सूचनाको शक्ति - The Power Of Information

        

बाँके क्षेत्र नम्बर १ बाट माओवादीका को-को परे सिफारिसमा ?

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र)का आधा दर्जन बढी ब्यक्ति सिफारिसमा परेका छन् ।

सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका महेश्वर गहतराज, लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी, अशोक रोकाय, प्रकाश सुवेदी, ओमप्रकाश सापकोटा केसी, नरेन्द्र न्यौपाने र नरबहादुर खत्री सिफारिसमा परेका हुन् ।

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका लागि गहतराज निर्वाचित भएका थिए ।उनले नेपाली कांग्रेसका माधवराम खत्रीलाई पराजित गरेका थिए ।

तत्कालिन बाम गठबन्धनबाट चुनाव लडेका गहतराजलाई नेकपा एमालेले साथ दिएको थियो । यसपटक भने सत्तारुढ पाँच दलबीच गठबन्धन बनिसकेको छ । गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा कुन दलले उम्मेदवार पाउने भन्ने बारेमा अहिलेसम्म टुंगो लागेको छैन ।

माओवादी केन्द्रसहित गठबन्धनभित्र रहेका दलहरु नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पनि आ-आफ्नो दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १८:४५