सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधिका १०० दिन

विकास र सुशासनमा ‘अब्बल’ गाउँपालिका बन्दै ‘सिंजा’

हिमा नदीका असला माछाका भुरा संरक्षणका लागि गाउँपालिकाले बजेटसमेत छुटाएको छ ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यीमध्ये सीमित जनप्रतिनिधि दोहोरिएका छन् भने धेरै नयाँ अनुहार छन् । अघिल्लो कार्यकालको तुलनामा

उनीहरूको काम गराइ उत्साहजनक र परिपक्क देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल सुरु गरेको १०० दिन बितिसकेको छ । यस अवधिमा केही स्थानीय तहले राम्रो र प्रभाव पर्ने काम गर्दै आएका छन् । जसमा जुम्लाको सिंजा गाउँपालिकाको कामकारबाही हेर्दा केही आशाजनक काम देख्न सकिन्छ ।

जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल पनि गाउँपालिकालाई विकास योजना निर्माणदेखि सुशासन कायम गर्ने गाउँपालिकालाई अब्बल बनाउनमा होमिएका छन् । सिंजाका जनप्रतिधिहरुले योजना छनौटदेखि काम गर्ने तरिकामा सुधार ल्याएको गाउँपालिका अध्यक्ष धितालले बताए ।

सिंजालाई योजनाबद्ध विकासको काम गर्नुपर्छ भन्ने स्थानीयवासिको आवश्यकता र माग अनुसार योजना छनौट भई काम सञ्चालनको तयारीमा रहेको अध्यक्ष धितालले जानकारी दिएका छन् । सिंजाको समग्र विकासका लागि जनपक्षीय कदम उठाउन पालिकाका सबै जनप्रतिनिधि लागिपरेका छन् ।

गाउँ कार्यपालिकाका निर्णयहरू प्रमाणीकरण गरेर २४ घण्टाभित्र सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकालाई आर्थिक मितव्ययिता एवं पारदर्शी बनाउन खुल्ला प्रतिस्पर्धाको कोटेशनबाट मात्र खरिद प्रक्रियाको काम अघि बढाएको अध्यक्ष धितालले बताए ।

पूर्णप्रसाद धिताल, अध्यक्ष, सिंजा गाउँपालिका

सिंजा गाउँपालिकालाई सुशासन कायम गर्ने र प्रशासनिक सेवा प्रवाह सुधारमा व्यापक जोड दिएको देखिन्छ । साथै गाउँपालिकाले आर्थिक दायित्व बढ्ने र प्रतिफल नहुने गतिविधि बन्द गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका सबै निर्णय, क्रियाकलाप र दस्तावेज वेबसाइटमा प्रकाशित हुने व्यवस्था मिलाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रत्येक महिनाको १ गते नराकोटमा हाट बजार सञ्चालनमा ल्याएको छ । टेलिफोन सेवाको टावर सुचारु, साथै गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष धितालले जानकारी दिए ।

सिंजाबासीको सहजताका लागि नापी, मालपोत र कृषि बैंक स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । स्वस्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिकामा ल्याव स्थापना प्रक्रिया सुरु भई स्वास्थ्य चौकीमा ल्याव टेक्निसियन, ल्याव असिस्टेनको करार विज्ञापन गरेर प्रक्रिया अघि बढाइसकेको गाउँपालिकाले जनाएको छ ।

कृषि पेशालाई किसानसँग जोड्न नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिक कर्मचारीलाई करारमा लिई काम गर्न पालिकाको कृषि शाखा लागिपरेको छ । पालिकाको आन्तरिक राजश्वमा थप वृद्धि गर्न नदीजन्य गिट्टी, वालुवाको प्रारम्भीक वातावरणीय परिक्षण (ईआइए) लागि १५ दिने राय सुझाव पेश गर्न सूचना प्रकाशित भइसकेको छ ।

जुम्ली खस भाषाको अभिलेख गर्न भाषा आयोगसँग सहकार्य गरेर आयोगमा दर्ता प्रक्रियामा गाउँपालिकाले जनाएको छ । पालिकाको केन्द्रमा रहेको नराकोट बजारलाई व्यवस्थित गर्न हरेक पसलमा अनिवार्य सामानको मुल्य सूची टाँस्नुपर्ने, बजार क्षेत्रका शौचालय खुला राख्ने र प्रत्येक दिन बजार सरसफाई गर्नुपर्ने जनाएको छ ।

पालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गरिसकेको छ । हिमा नदीका असला माछाका भुरा संरक्षणका लागि गाउँपालिकाले बजेटसमेत छुटाएको छ । गाउँपालिकाभित्रका १ देखि ३ कक्षसम्म खस भाषाको पाठ्यपुस्तकबाट पढाइ भइरहेको छ । अब थप ८ कक्षसम्म खस भाषाबाट पढाइ गरिने गाउँपालिका अध्यक्ष धिताले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १७:२२