सूचनाको शक्ति - The Power Of Information

        

सल्यानका जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन् । तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ । अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ ।

सडकमा ठूलठूला खाल्डा परेका छन् । मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ ।

पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन् । कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीमा हिँडडुल गर्न डर लाग्ने गरेको स्थानीय देवीलाल वलीले बताए ।

सडकको स्तरोन्नति र सरकारी निकायले समयमै मर्मत सम्भार नगर्दा सडक बिग्रिदै गएको उनको भनाइ छ । जिल्लाभित्र पर्ने सडकहरूको निर्माण, मर्मत सम्भार असोज १ गतेदेखि नै थालनी गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार कार्यालय सल्यान र निर्माण व्यवसायीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

चाडपर्व नजिकै आएकाले सडकको निर्माण, मर्मत तथा स्तरोन्नतिको काम छिटो छरिता र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको उनको भनाइ छ । अधिकांश सडकको काम अलपत्र अवस्थामा रहेकाले निर्माण व्यवसायीले कामको जिम्मा लगिसकेपछि समयमै सम्पन्न गर्नुपर्ने बताए ।

जीर्ण बनेका सडक मर्मतका लागि मात्र राप्ती राजमार्गमा वर्षेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यो वर्ष पनि जीर्ण सडक मर्मतका लागि ४० करोड बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।

ठेकेदारले काममा ढिलाइ गर्दा सडक भने जस्तो सुधार हुन नसकेको जैसवालको भनाइ छ । कार्यालयले जति ताकेता गर्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरूले काम नगरेको उनले दाबी गरे । अब कार्यालयले तत्काल दशैँअघि सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम गर्ने उनले बताए ।

अन्य ठेक्का प्रक्रिया लागिसकेको ठाउँको पनि मौसम खुलेपछि तत्काल काम सुरु गर्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । निर्माण व्यवसायीले भने निर्माण सामग्री महँगो भएका कारण र वर्षातका कारण सडकको काम गर्न नसकिएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १४:०७