सूचनाको शक्ति - The Power Of Information

        

साल्ट ट्रेडिङले दशैँअघि नै तोरीको तेल उत्पादन गर्ने

दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेल उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि हेटौँडाकाे नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले आठ अर्ब ५८ करोड रुपैयाँको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४/७५ मा नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा आठ अर्ब २५ करोड, आव २०७६/७७ मा नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३९ करोड रुपैयाँको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उहाँको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ ।

कर्पोरेशनले आव २०७७/७८ मा मात्रै पाँच करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गएकाे आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो ।

कर्पोरेशन ६० औँ वर्षमा 

सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो ।

तत्कालीन समयमा उपभाेक्तालाई सहजरूपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ । कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ ।

६० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमुना संस्था बनाउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको बताउनुभयो ।

आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसाबले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उहाँको भनाइ छ । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई दुई वर्षसम्म मासिक तीन हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १८:१५