सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

गठबन्धनको ‘निर्णायक छलफल’, सिट बाँडफाँटमा ‘सकस’

आज पनि सुरु भयो ‘निर्णायक छलफल’, सहमतिका लागि अन्तिम भाका ‘भोलि’

सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको शनिबार साँझ बसेको बैठक पनि निष्कर्षविनै सकिएको छ । सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक विनानिष्कर्ष सकिएको हो ।

सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । तर कुनै सहमति भने हुन सकेको छैन । नेताहरू आज टुङ्ग्याउने भन्दै बैठक बस्दै आएका छन् ।

तर बैठक भने सहमति हुन नसकेर सर्दै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । ‘निर्णायक छलफल’ बैठक अहिले फेरि बसिरहेको नेताहरूले बताएका छन् ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो । सहमतिका लागि अन्तिम भाका ‘भोलि’सम्मका लागि तय गरिएको नेताहरु बताउँछन् ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौं बाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर हिजो पनि सहमति जुट्न सकेन ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतवार ०९:१६