गुल्मी धुर्कोट गाउँपालिकाका भेषबहादुर घर्तीलाई तम्घासको रेसुङ्गा विमानस्थलबाट जहाज चढेर, काठमाडौं पुग्ने रहर थियो । विमानस्थल बने पनि त्यो रहर पूरा हुन्छ हुँदैन पक्का छैन । रेसुङ्गा विमानस्थल सुरु गरिएको १५ वर्षमा निर्माणको काम सम्पन्न भएको छ ।
विमानस्थल निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । नियमित उडानको लागि विमानस्थल तयार भएपनि विमान उडानको अन्यौल हुँदा निर्माण गरिएका संरचना भत्किएका छन् । पछिल्लो समय विमानस्थल टिकटक र पर्यटन गन्तव्यमा सीमित भएको छ । गुल्मी जिल्लाको गौरवको आयोजनामध्ये एक हो रेसुङ्गा विमानस्थल ।
निर्माण सुरु गरिएको १५ वर्षमा विमानस्थल निर्माणको काम सकिए पनि विमान उड्ने छाँटकाँट नहुँदा विमान चढ्ने सपना सपनामै सीमित भएको रेसुङ्गा नगरपालिका–१० की रमिता अर्यालले बताइन् । उनले भने, ‘विमानस्थल बन्यो अव जहाज उड्ला भनेको त उल्टो भवन तथा संरचना तोडफोड हुन थाले ।’ राज्यको करोडौं लगानी बालुवामा पानी सरह भएको स्थानीय यादव पाण्डेले गुनासो गरे ।
‘निर्माण सुरु भएपछि १५–१६ वर्ष निर्माणाधीन अवस्थामा भएकाले चित्त बुझाएर बस्यौँ,’ स्थानीय पाण्डेले भने, ‘विमानस्थल नियमित उडान हुनेमा आशंका थपिएको छ । नियमित उडान भएमा गुल्मीसँगै छिमेकी जिल्लालाई निकै ठूलो सेवासुविधा हुने थियो ।’ विमानस्थल सञ्चालनमा नआएपछि विमानस्थलमा नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटा खिच्ने लगायतका गतिविधि हुन थालेका छन् ।
निर्माण सुरुवातसँगै पटक पटक विमानस्थलबाट नियमित उडान आशा देखाए पनि निर्माण सकिएको महिनौं बितिसक्दा समेत उडान हुन् नसकेको गुल्मी रेसुङ्गा नगरपालिका ११ का बलबहादुर पुनले बताए । पुनले भने, ‘जिल्लाका नेताले प्रत्येक नयाँबर्ष र दशैंमा नियमित विमान उडाउने भन्दै भाषण र सपना बाँडे तर अहिले आएर त्यो भ्रम मात्रै भयो ।’
जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडक भरपर्दो नहुँदा हवाई यात्रा छिटो र भरपर्दो मानिन्छ । राज्यले विमानस्थल निर्माणको लागि करोडौं लगानी गरे पनि बालुवामा पानी जस्तै भएको स्थानीयको आरोप छ । विमानस्थललाई देखाएर गुल्मीका विभिन्न राजनीतिक दलका नेताले चुनाव जितेका छन्, तर वषौं बितेपनि जनताले हवाईयात्राको अवसर भने पाएका छैनन् ।
धावनमार्गको अवस्था
रेसुङ्गा विमान स्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । विमानस्थलको पार्किङ ६० मिटर लम्बाइ ३० चौडाइ रहेको छ । हाल विमानस्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ ।
धावनमार्ग निर्माण गर्दा स्थानान्तरण गरिएका परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारी दिने भने पनि विमानस्थल नै सञ्चालनमा नआएपछि स्थानीय पनि निराश छन् । विमानस्थलको सुरक्षाका लागि नगरपालिकाबाट एकजना नगरप्रहरी खटाइएको छ । राजनीतिक नेतृत्वले विमानस्थलको नियमित सञ्चालनका बारेमा धेरै पटक प्रतिवद्धता जनाए पनि त्यस्ता प्रतिवद्धता कार्यान्वयन हुन सकेका छैनन् ।
रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि विमान स्थल निर्माणको काम थालिएको थियो । उनीहरूले मुआब्जा पाए भने कसैले अन्य जग्गा दिएर घर बनाएर बसेका छन् । वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल गत वैशाखमा निर्माण सम्पन्न भएको हो ।
जग्गा अधिग्रहण र बजेट अभावका कारण सुरुको करिब ७–८ वर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन । त्यसपछि २०७२ सालबाट निर्माणको काम नियमित भएपछि विमानस्थलको भौतिक संरचना तयार भएको हो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले कच्ची उडान गरेको थियो । रेसुंगा विमानस्थल रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले विमानस्थलको भौतिक संरचना निर्माणको काम गरेका थिए ।
कुल ३५ करोड लागतमा रेसुंगा विमानस्थल भएको आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले बताए । शिलान्यासको समयदेखि जग्गा अधिग्रहण, विस्थापितलाई स्थापितदेखि तारजाली, धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावरलगायतका काममा उक्त रकम खर्च भएको हो । १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको उनले बताए ।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको बताए । ‘गुल्मेलीको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौं,’ नगर प्रमुख पन्थीले भने । उनले गुल्मेली जनतालाई हवाई सेवा प्रदान गर्न आफू आतुर रहेको भन्दै मन्त्रालय र प्राधिकरणसँग सहमति भइसकेको बताए ।
आइएनएस–स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल । रुपन्देही ।