भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने ८८८ चरामध्ये हाल यहाँ ५३१ चरा फेला परिसकेका छन् । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्,’ वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउछन् ।
नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहने उनले बताए । कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरीले बताए ।
उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ । प्राध्यापक डा दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ ।
‘कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्,’ विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने क्षेत्रीले बताए । प्रा डा थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पुर्याएको छ तर केही मात्रामा चै विस्तारै विस्तारै स्वभाविक हुँदै जाँदा पनि रहेछन् ।
साइबेरीयादेखि आउने एक प्रकारका चरा, कर्मोरेन्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाका जात र पानि हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा डा थापाले बताए । उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् ।
बर्सेनि करिब १५० प्रजातिका चरा रुस, कीर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । करिब ५० प्रजातीका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् ।
जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्राय रहने गर्दछन् ।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् ।
यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् ।
उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।
रासस । बेलबारी ।