सूचनाको शक्ति - The Power Of Information

        

३७ वर्षदेखि साइकल मर्मतमै सक्रिय भक्तबहादुर

मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् । यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ समाउँछन् । विराटचोकमा ३७ वर्षदेखि उनको एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ ।

सुरुमा यस क्षेत्रमा उनको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ छन् । कर्मका पुजारी तथा मिहिनेती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेपेका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् ।

उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन । ‘देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ,’ भक्तबहादुर बताउँछन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ । भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थे ।

‘सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो,’ भक्तबहादुर भन्छन् । भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए । उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए ।

भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । ‘यही मेरो स्थायी काम भयो,’ उनले सुनाए । भक्तबहादुर प्रायः विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन् । ‘बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो,’ उनी भन्छन् । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनको घरमा पहिले ६ जनाको परिवार थियो ।

दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको बताउँछन् । भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक रु १५ हजार जति कमाउँछन् । यसैबाट घर परिवार चलाउँछन् । उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्ने लगायत साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् ।

चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउँछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले मोटरसाइकल तथा कार किनेको उनी बताउँछन् । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउँछन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार ११:२८