प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई लिएर भ्रम फैलाइएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन कार्यक्रममा बाेल्दै देउवाले यस्ताे बताउनुभएकाे हाे ।
कतिपयले एमसीसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, खै ! विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ?
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिद्धयाउन षड्यन्त्र भइरहेकाे दाबी पनि गर्नुभयाे । कांग्रेसलाई बलियाे र ठूलाे पार्टी बनाउन गठबन्धन आवश्यक रहेकाेले भ्रमकाे पछाडि नलाग्न नेता कार्यकर्तालाई उहाँकाे आग्रह थियाे ।
यस्तै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकाे बताउनुभयाे । उहाँले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको जिकिर गर्नुभयाे ।
यस अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्याउने जीवित र मरणोपरान्त गरी एक सय ५० जनालाई सम्मान गरिएको थियो ।
सत्यपाटी । चितवन ।