सूचनाको शक्ति - The Power Of Information

        

महारानी एलिजाबेथ द्वितीयको निधन

चार्ल्सपछि अब को बन्ला बेलायती सिंहासनको उत्तराधिकारी ?

एलिजाबेथको मृत्युसँगै उनका जेठो छोरा चार्ल्स राजाको रूपमा सिंहासनमा पुगेका छन् ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएसँगै चार्ल्स तृतीय बेलायतको नयाँ राजा बनेका छन् । आफ्ना बुबा राजा जर्ज छैटौँको मृत्युपछि सन् १९५२ को फेब्रुअरीमा एलिजाबेथ बेलायत सिंहासन सम्हाल्ने छैटौँ रानी बनेकी थिइन् ।

उनले बेलायती इतिहासमा सबैभन्दा लामो समय ७० वर्षभन्दा बढी समय शासन गरिन् । एलिजाबेथको मृत्युसँगै उनका जेठो छोरा चार्ल्स राजाको रूपमा सिंहासनमा पुगेका छन् । यससँगै चार्ल्सका जेठो छोरा विलियम सिंहासनको लागि पहिलो उत्तराधिकारी बनेका छन् ।

राजा चार्ल्स तृतीय

चार्ल्स तृतीय सन् १९४८ नोभेम्बर १४ मा जन्मिएका हुन् । चार्ल्सले सबैभन्दा लामो समयसम्म सिंहासनको लागि कुरेका थिए । उनी तीन वर्षको उमेरदेखि नै उत्तराधिकारी थिए । चार्ल्स विश्वविद्यालयको डिग्री हासिल गर्ने पहिलो शाही उत्तराधिकारी हुन् ।

उनी वेल्सकी राजकुमारी डायनासँग १९८१ देखि १९९६ सम्म वैवाहिक सम्बन्धमा थिए । उनीहरुका दुई छोरा छन्, राजकुमार विलियम र ह्यारी । सन् १९९७ मा पेरिसमा प्रेमी डोडी फयेद र चालक हेनरी पलसँगै डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि २००५ मा चार्ल्सले कोर्नवालकी डचेज कमिलासँग विवाह गरेका थिए ।

बेलायती महारानी एलिजाबेथ द्वितीय । उनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

 

राजकुमार विलियम

विलियम सन् १९८२ जुन २१ मा जन्मिएका हुन् । कर्नवालका ड्युक विलियम उत्तराधिकारीको लागि पहिलो पङ्क्तिमा छन् । उनले शाही परिवारमा उच्चतम शैक्षिक डिग्री हासिल गरेका छन् ।

सन् २००६ देखि २०१३ सम्म सेनामा सेवा गरेका उनले १५० भन्दा बढी हेलिकप्टर खोज तथा उद्धार कार्यमा भाग लिएका छन् । उनले कोर्नवालकी डचेज क्याथरिनसँग २०११ मा विवाह गरेका हुन् । उनीहरुका तीन सन्तान छन्, राजकुमार जर्ज (९ वर्ष), राजकुमारी चार्लोट (७ वर्ष) र राजकुमार लुइस (४ वर्ष) ।

राजकुमार जर्ज

सन् २०१३ जुलाई २२ मा जन्मिएका प्रिन्स जर्ज हाल ९ वर्षका भए । जर्ज अहिले उत्तराधिकारीको दोस्रो पंक्तिमा छन् । आफ्ना हजुरबुवा प्रिन्स चार्ल्स र बुबा प्रिन्स विलियमको शासनकालपछि राजा बने भने उनी बेलायतको ४३ औँ राजा हुनेछन् । तर, अहिलेको लागि उनले आफ्नो शिक्षामा ध्यान दिइरहेका छन् । जर्ज हाल आफ्नी बहिनी राजकुमारी चार्लोट र भाइ राजकुमार लुइससँग विन्डसरस्थित ल्याम्ब्रोक स्कुलमा पढ्छन् ।

राजकुमारी चार्लोट

राजकुमारी चार्लोट सन् २०१५ मे २ मा जन्मिएकी हुन् । उत्तराधिकारीको तेस्रो पङ्क्तिमा रहेकी राजकुमारी चार्लोटको जन्म ’अधिक न्यायपूर्ण युग’मा भएको थियो । २०११ मा बेलायती राजतन्त्रले उत्तराधिकारको लाइनमा पुरुष उत्तराधिकारीहरूलाई प्राथमिकता दिने नियमलाई खारेज गरेको थियो ।

Photo : Jonathan Brady/Pool Photo via AP

राजकुमार लुइस

राजकुमार लुइस हाल ४ वर्षका भए । लुइस सिंहासनको लागि चौथो पङ्क्तिमा छन् । शाही परिवारको लागि निकै व्यस्त समयमा उनको जन्म भएको थियो । राजकुमार ह्यारी र मेघनको विवाह हुनु केही हप्ता अघि मात्रै उनी जन्मिएका थिए ।

ससेक्सका ड्युक राजकुमार ह्यारी

राजगद्दीको पाँचौँ पङ्क्तिमा रहेका राजकुमार ह्यारी सन् १९८४ सेप्टेम्बर १५ मा जन्मिएका हुन् । ह्यारीले पनि सेनाको तालिम लिएका थिए । २००८ मा बेलायती रक्षा मन्त्रालयले ह्यारीले डिसेम्बर २००७ देखि चार महिनाको मिसनमा अफगानिस्तानमा गोप्य रूपमा आफ्नो सेनाको एकाईसँग काम गरेको जानकारी दिएको थियो ।

सुरक्षाका कारण उनलाई तुरुन्तै फिर्ता बोलाइएको थियो । तर, पछि सन् २०१२ मा हेलिकोप्टर पाइलटको रूपमा उनी पुनः मिसनमा फर्किएका थिए । झण्डै एक दशकको सेवापछि सन् २०१५ मा उनले सेना छोड्ने घोषणा गरेका थिए । ससेक्सकी डचेज मेघनसँग ह्यारीले २०१८ मा विवाह गरे ।

२०१९ को मेमा उनीहरुको पहिलो बच्चा छोरा आर्ची ह्यारिसन माउन्टबेटन–विन्डसरको जन्म भएको थियो । त्यसपछि छोरी लिलिबेट ‘लिली’ डायना माउन्टबेटन–विन्डसरको जन्म जुन २०२१ मा भएको थियो । २०२० को प्रारम्भमा उनीहरुले बेलायती शाही परिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूहरु पछि हटेको घोषणा गरेका थिए ।

उनीहरु अहिले अमेरिकामा बस्छन् । ह्यारीपछि बेलायती राजगद्दीको उत्तराधिकारी उनका छोरा र छोरी छन् । उनीहरु पछि राजगद्दीको उत्तराधिकार अरु सदस्यमा जान्छ । हेर्नुस् बेलायती राजपरिवारको ‘फेमिली ट्री’ यस्तो थियो । तस्वीर : सीएनएन

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १८:५७