सूचनाको शक्ति - The Power Of Information

        

एक हजार रुपैयाँ तिरेर नौ किलोमिटरको यात्रा

राष्ट्रिय सडक सञ्जालमा जोडिएको दक्षिणी हुम्लामा नौ किलोमिटर सडकमा मोटरसाइकल चढेको एक हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ ।

सर्केगार्ड गाउँपालिकाको केन्द्रदेखि चङ्खेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको छ ।

मोटरसाइकलवालाले आफूले तोकेको भाडा नदिए नजाने जवाफ दिने हुँदा यात्रुले बाध्य भएर चर्को भाडा तिर्नुपरेको हो । सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलमा यात्रा गरेका यात्रु पवन बुढाले मोटरसाइकलवालाले मनलाग्दी भाडा लिने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्णय गरी उक्त सडकखण्डको भाडादर प्रतियात्रु ८० रुपैयाँ सिफारिस गरेर पठाएको थियो । उनले सडक निर्माण भएपछि यात्रुहरू हतारका बेला जति पनि भाडा तिर्न बाध्य हुने गरेको बताए ।

यता सर्केगार्डबाट दुल्लीकुना र स्याल्तडीसम्म पनि सात किलोमिटरकै एक हजार रुपैयाँ लिने गरेका छन् । उनले गाउँपालिका र सुरक्षाकर्मीबाट अनुगमनसमेत नहुने भएपछि मोटरसाइकलवालाले जथाभावी भाडा लिने गरेको बताए ।

हाल मोटरसाइकलवालाको दैनिक कमाइ १५ हजार रुपैयाँसम्म हुने गरेको पाइएको छ । अहिले सर्केगार्डमा १५ वटा मोटरसाइकलले चर्को भाडा लिएर यात्रु बोक्दै आएका छन् ।

यस्तै सलीसल्लादेखि ताँजकोटसम्मको ३९ किलोमिटर यात्रा गर्दा २० हजार रुपैयाँसम्म भाडा लिने गरेको सो गाउँपालिकाका स्थानीय जङ्गबहादुर शाहीले बताए ।

यसरी चर्को भाडा तिर्नुपरेको उजुरी कसैले पनि नदिने र मोटरसाइकलमा आफ्नै मान्छे पछाडि राख्न सकिने भएका कारण जाँच गर्न कठिन भएको प्रहरीले बताएको छ ।

ती मोटरसाइकल सर्केगार्ड दुल्ली कुना, सर्केगार्ड, सलीसल्ला, पिप्लाङ, सलीसल्ला बालुकुना, अदानचुली, दोमुख, पैमा, कवाडी र बाजुराको कोल्टीसम्म सञ्चालन हुने गरेका छन् । अन्य यातायात नियमित सञ्चालन नहुने भएका कारण मोटरसाइकलमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १२:२०