सूचनाको शक्ति - The Power Of Information

        

रारा तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण गरिँदै

रारा (महेन्द्र) तालको सर्वेक्षणमा खटिएका कर्मचारीहरू । 

नेपालको सबैभन्दा ठुलो रारा (महेन्द्र) तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण सुरु भएको छ । सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी समेत दिइएको छ । राराको सर्वेक्षण गर्न कार्ड–ई–टु सर्भिस–जेड–जेभी प्रालि परामर्शदाता संस्थाले जिम्मेवारी पाएका हुन् ।

उक्त परामर्शदाता संस्थाले रारा (महेन्द्र) तालले समेटिएको क्षेत्रफल, गहिराई, तालको पानीको गुणस्तर र तालको आसपाससम्म फैलिएको १०० मिटर भू–भागको पुर्णरुपमा वातावरण सम्बन्धी सर्वेक्षण गरी प्रतिवेदन तयार गरी जल तथा मौसम विज्ञान विभागमा पेस गर्ने जम्मा दिइएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार जल तथा मौसम विज्ञान विभाग काठमाडौँको टेन्डरमा सम्झौता भए अनुसार संस्थालाई जिम्मेवारी दिइएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बद्री विनोद दाहालले रारा तालले समेटिएको क्षेत्रफल र गहिराइको सर्वेक्षण २०५४ सालमा पहिलो पटक सर्वेक्षण गरिएको बताए ।

उक्त सर्वेक्षणमा तालको गहिराइ र तालले समेटिएको क्षेत्रफल मात्र सर्वेक्षण गरिएको उनको भनाई छ । परामर्शदाता कम्पनीका अनुसार पानीले छोएको क्षेत्रभन्दा बाहिर पर्ने चुचेमारा लेकबाट सर्वेक्षण गर्ने उद्देश्यले रारा तालको वरिपरि तीन वटा स्थायी प्वाइन्ट स्थापना गरिएको जनाएको छ । त्यसैगरी १३ वटा अस्थायी प्वाइन्ट स्थापना गरिएको छ ।

जसले गर्दा यी प्वाइन्टबाट पुनः सर्वेक्षणको निरीक्षणमा सहज हुने उद्देश्यले स्थापना गरिएको छ । इन्जिनियर राम श्रेष्ठका अनुसार रारा तालको सर्वेक्षण नयाँ प्रविधिको माध्यमले अध्ययन गरिएको छ । पहिलो चरणमा तालको भू–अध्ययन दृष्टिकोण सम्पन्न भएका र बुधवारदेखि तालको गहिराइ, लम्बाई र चौडाइको क्षेत्रफल सम्बन्धी अध्ययन गर्ने कार्य थालनी गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १०:३२