सूचनाको शक्ति - The Power Of Information

        

गाउँ ब्लकको जग्गालाई लालपुर्जा

बाँकेको कोहलपुर नगरपालिका–४ स्थित गोहवा र बेलनपुरमा गाउँ ब्लकका १०१ जनालाई लालपुर्जा वितरण गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र वडाध्यक्ष मुबारक अलि गुजरले संयुक्त रूपमा पुर्जा वितरण गरे ।

नगर प्रमुख आचार्यले कोहलपुरमा जग्गा वितरणको काम सुरु भइसकेको र केही महिनामा सबै वडामा लालपुर्जा वितरण हुने बताए । ‘अहिले जग्गा नाप्ने काम भइरहेको छ,’ उनले भने, ‘अबको केही महिनापछि सबै वडामा पुर्जा वितरण हुन्छ ।’

नगर उपप्रमुख सङ्गीता सुवेदीले कोहलपुरका–३ वडामा गाउँ ब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकेको बताइन् । नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरी बसिरहेकालाई छानबिन गरी लालपुर्जा उपलब्ध गराइएको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०९:५५