सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पञ्चायतकालमा नेपाल आएकी बेलायती महारानी एलिजावेथको निधन

महारानीको निधनपछि उनका जेठा छोरा राजकुमार चार्ल्स ब्रिटेनका सम्राट रहनेछन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो । ‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ ।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो । रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् । रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ ।

त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ । करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ । उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ । एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन् ।

त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन् । किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन् । १९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन् । जो युद्धको समयमा उनका प्रेमी थिए । उनको २०२१ मा निधन भयो ।

१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन् । राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो । उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन् । अब ती सबै पदवी स्वतः उनको छोरामा सर्नेछ ।

उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन् । रानी एलिजावेथको शासनकालमा १५ जना अलगअलग प्रधानमन्त्री बने । जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन् । २०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन् ।

पञ्चायतकालमा नेपाल आएकी थिइन् बेलायती महारानी

महारानी एलिजाबेथ द्वितीय वि.सं.२०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो । एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।

उनको त्यस भ्रमणले विशेष चर्चा पाएको थियो । नेपालप्रति उनको विशेष चासो रही आएको कुटनीतिज्ञहरु बताउँछन् । उनी ७० वर्षसम्म ब्रिटेनको सम्राटका रूपमा रहिन् । एलिजाबेथ सन् १९५२ मा ब्रिटेनकी महारानी बनेकी थिइन् । त्यसको १६ महिनापछि जुन १९५३ मा उनको गद्दी आरोहण समारोह भएको थियो । महारानीको निधनपछि उनका जेठा छोरा राजकुमार चार्ल्स ब्रिटेनका सम्राट रहनेछन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०९:४४