सूचनाको शक्ति - The Power Of Information

        

नयाँ बर्षको सुरुवातसँगै शेयर बजारमा उत्साह


काठमाडौं । शेयरको कारोबार हुने दोस्रो बजारमा प्रायजसो बैशाख लागेसँगै उत्साह देखिने गरेको छ । यसपाली पनि निरन्तर ओरालो लागेको शेयर बजार बैशाख २ गतेपछि हरियो भएसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
बजार विश्लेषक निरञ्जन टिवरेवालका अनुसार, बैशाख लागेसँगै सबै कम्पनीको तेस्रो आर्थिक वर्षको वित्तीय विवरण आउँछ । जसले गर्दा आगामी वर्षमा ती कम्पनीले के कति लाभांश दिन सक्छन् भन्ने पूर्वानुमान गर्न सकिन्छ र बजारमा उत्साह देखिन्छ । चैतको वित्तीय विवरणले भोलिको लाभांश कति हुनसक्छ भनेर अनुमान लगाउन सकिन्छ ।
साथै चैत्रमा घटेको बजारबाट सस्तो मूल्यमा शेयर उठाउन पाइने भएकाले लगानीकर्ताको प्रवेश पनि बढेर जान्छ । ‘घटेको बेलामा शेयर बजार प्रवेश नगरे भोलिका दिनमा महँगो मूल्य हाल्नु पर्छ,’ उनले भने, ‘शेयर बजारमा भर्खर प्रवेश गर्न चाहने र नियमित लगानी गर्नेहरु पनि सक्रिय हुने समय बैशाख बन्ने गरेको छ ।’
बैशाखमा शेयर बजारमा प्रवेश गर्नेले आगामी चारदेखि पाँच महिनाभित्रै लाभांश पाउन थाल्छन् । ‘बैशाख अन्तिमतिर सरकारको नीति तथा कार्यक्रमको चहलपहल सुरु हुन्छ,’ उनले भने, ’यसबाट पनि लगानीकर्ता बढी आशावादी हुन्छन् ।’ बजारमा एक पटक चमक देखिन थालेपछि चुपलागेर बसेका लगानीकर्ता पनि धमाधम खरीदबिक्रीमा सक्रिय हुन थाल्छन् । यसले गर्दा शेयर बजारमा कारोबार स्वतः बढ्छ ।
‘कति अंकले बजार बढ्छ भन्ने कुरा कम्पनीको प्रस्तुति र सरकारको नीतिमा भर पर्छ,’ उनले भने, ‘बैशाखदेखि भदौ असोजसम्मको समयलाई ‘वुलिस ट्रेण्ड’ कै रूपमा हेर्ने गरिएको छ ।’ लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको अनुभवमा पनि बैशाख शेयर बजारका लागि ‘हरियाली’ समय हो । उनका अनुसार, कुनै राजनीतिक उथलपुथल वा सरकार तथा नियमनकारी निकायले शेयर बजारलाई असर गर्ने गरी नीति नियम नल्याएको खण्डमा बैशाखदेखि असोजसम्म सँधै नै बजार बढ्ने गरेको छ ।
चैतमा ब्याज तिर्नु पर्ने दवावमा लगानीकर्ता हुन्छन् । बैशाख लागेसँगै करको तनाव सकिन्छ । ‘तनाव मुक्त भएपछि बैशाख महिना लगानीकर्ताका लागि बजारमा केन्द्रित हुने उपयुक्त समय हुन्छ,’ अर्यालले भने । बैशाखदेखि बढ्न थालेको शेयर बजारले कम्पनीहरुको साधारणसभा नभएसम्म ‘सपोर्ट’ पाइरहने उनले बताए ।
चैत्र १२ गते ११६८.५५ सम्म झरेर बजार फर्कियो । लगानीकर्ताको बुझाइमा यसलाई चालु बर्षको सबैभन्दा कम अंकका रुपमा अथ्र्याए । यही कारण अब बजार बढ्छ भन्ने विश्लेषण लगानीकर्ताले गर्दा बैशाख लागेसँगै बजार हरियो रंगमा पोतिएको अर्का विश्लेषक बलराम रिमालले बताए । बैशाख लागेसँगै सरकारको बजेट खर्च पनि सुधार आउने गरेको छ ।
सरकारको ढुकुटीबाट पैसा वाहिरिन थालेपछि बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतामा केही सुधार आउँछ । बैंकिङ क्षेत्रमा देखिएको सुधारले शेयर बजारलाई पनि उत्साहित बनाउने उनले बताए । ‘तरलतामा सुधार आएसँगै हिजोका दिनमा मार्जीन ऋण लिएकालाई जसरी बैंकबाट फोनरम्यासेज आउँथ्यो त्यो बन्द हुन्छ,’ उनले भने, ‘बजार वस्तारै बढ्दै जाँदा बैंकको फोनको तनाव सकिन्छ र लगानीकर्ताहरुले लगानी बढाउन थाल्छन् ।’

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतवार ०६:२९