सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेवास्ता

सञ्चालनमा आएन छापाखाना, जीर्ण बन्दै संरचना, उपकरण प्रयोगविहीन

छापाखाना सञ्चालन हुन नसक्दा जनक शिक्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पुर्याउन सकेको छैन ।

छापाखाना रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको जीर्ण भवन ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना सञ्चालनमा नआउँदा त्यहाँका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यस लगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो ।

छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका हुन् । साबिक मध्य र सुदूरपश्चिम जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो । छापाखाना सञ्चालन हुन नसक्दा जनक शिक्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पुर्याउन सकेको छैन ।

छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको उक्त केन्द्रका नेपालगन्ज शाखा प्रमुख रविन्द्र शर्माले बताए । उनका अनुसार, छापाखाना सञ्चालनका लागि आवश्यक विद्युत लगायत सबै पूर्वाधार तयार भएपनि केन्द्रीय योजना नबनेका कारण सञ्चालनमा आउन सकेको छैन । छापाखाना सञ्चालनमा आउन नसक्दा बनाइएकोे भवन र ‘टु–कलर’ उपकरण पनि प्रयोगविहीन अवस्थामा छ ।

उक्त कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्युठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पुस्तक यहीबाट छपाइ गरि पठाउन सकिने उनको भनाइ थियो । छापाखाना सञ्चालनका लागि फोर–कलरको उपकरण खरिद, पर्खाल निर्माण लगायत पूर्वाधार निर्माण गर्न करिब रु १० करोड वजेट आवश्यक पर्ने उनको भनाइ थियो ।

उक्त छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सकिने उनको भनाइ छ । खजुराबासीले पटक–पटक उक्त छापाखाना सञ्चालन गर्न माग गर्दै आएका छन् । छापाखाना सञ्चालनले सय बढीलाई रोजगारी दिन सकिने अपेक्षा गरिएकोे छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाँके शाखाका वरिष्ठ उपाध्यक्ष सागर ज्ञवालीले उक्त छापाखाना सञ्चालन भए समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सकिने बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १७:४९