सूचनाको शक्ति - The Power Of Information

        

दिवा खाजाले विद्यार्थी नियमित

नरैनापुर गाउँपालिकाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित आउने क्रम बढेको छ ।

‘ड्रपआउट’ (कक्षा छाड्ने) हुने सङ्ख्या घट्दै गएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दिवा खाजा लागू भएपछि विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेको जानकारी दिए ।

उनले विद्यालयमा गए पनि बीचमै छोडेर जाने समस्या रहँदै आएकामा दिवा खाजाले सो समस्या धेरै हदसम्म समाधान भएको बताए ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनाहका प्रधानाध्यापक रज्जाक खाँका अनुसार दिवा खाजा र विद्यालय पोसाक वितरण भएपछि तल्लो कक्षाका विद्यार्थी खुसी हुँदै नियमित विद्यालय आउन थालेका छन् ।

उनले दिवा खाजाले ड्रपआउटको सङ्ख्या ५ प्रतिशत मात्र रहेको बताए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जमुनीमा पनि ड्रपआउट हुने विद्यार्थीको सङ्ख्या घटेको छ ।

पालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले ड्रपआउट रोक्न र बालिकाको सङ्ख्या बढाउन यो विशेष प्याकेजको कार्यक्रम ल्याएको जनाए ।

छोरी शिक्षाका लागि गाउँपालिकाले साइकल, ल्यापटप, पोसाक वितरण गर्दै आएको छ । नरैनापुरमा चार मावि, छ आधारभूत र २९ मदरसा सञ्चालनमा छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०९:२४