सूचनाको शक्ति - The Power Of Information

        

पाँच एयरलाइन्सलाई भैरहवा उडान गर्न अनिवार्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका पाँच हवाई कम्पनीले अब दैनिक एक उडान भैरहवामा गर्नुपर्ने भएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अक्टोबर ३० देखि सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) मा गौतमबुद्व विमानस्थलमा समेत उडान भर्न वायुसेवा कम्पनीहरूलाई पत्राचार गरिएको छ । अहिले काठमाडौँमा २६ विदेशी हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

भैरहवा विमानस्थलको बिजनेस बढाउन र विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो । ‘यसबाट काठमाडौँ विमानस्थलको हवाई चापलाई समेत सुधार गर्न मद्दत पुग्छ,’ भुलले भने । भैरहवामा पनि उडान गर्न प्राधिकरणले गरेको प्रस्तावपछिको छलफलमा हवाई कम्पनीहरू सकारात्मक रहेको उनले बताए ।

कात्तिकमध्यदेखि नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट दैनिक एक उडान गर्न तयार रहेको सूचना अधिकारीले भुलले जानकारी दिए ।भैरहवा उडान सङ्ख्या बढाउन, हवाई इन्धनको मूल्य घटाउन र भैरहवाबाटै सुरुवाती श्रम अनुमति र स्वास्थ्य परीक्षणको व्यवस्था गर्नसमेत मन्त्रालयहरूसँग छलफल भइरहेको उनले बताए ।

हाल गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरवेजले साताको तीन उडान गर्दै आएको छ । पछिल्लो समय यात्रु सङ्ख्या बढेसँगै जजिराले यही भदौ ३१ बाट नियमित एक उडान गर्ने तयारी गरेको छ । धेरै सम्भावनासहितको यो विमानस्थलमा उडान सङ्ख्या थपिँदै गए वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने बौद्धमार्गी पर्यटकलाई अन्तर्राष्ट्रिय उडानको सेवा लिन काठमाडौँ नै आउनुपर्ने बाध्यताको अन्त्य हुने देखिएको छ ।

प्राधिकरणले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशतसहित एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायत शुल्कमा एक वर्षसम्म छुट दिएको छ । तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल एसियाली विकास बैङ्कले सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:०४