सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिममा ८०० गर्भवतीको शल्यक्रिया

रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा ८०० गर्भवतीको शल्यक्रिया गरिएको छ । सामान्य रुपमा सुत्केरी हुन नसक्ने ८०० गर्भवतीलाई शल्यक्रिया अर्थात् अप्रेशन गरेर सुत्केरी बनाइएको हो । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ ।

आर्थिक वर्ष २०७४–०७५ मा १६४, २०७५–०७६ मा १५३, आव २०७६–०७७ मा १३१, २०७७–०७८ मा १५६ र २०७८–०७९ मा १९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला अस्पताल सल्लेमा २०३ र चौजहारी अस्पतालमा ८९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ ।

जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा बढी शल्यक्रिया भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिए । चौरजहारी अस्पतालमा जाजरकोट र सल्यानका गर्भवतीले सेवा लिएका छन् । जसका कारण चौरजहारीमा सेवा लिनेको सङ्ख्या ठूलो रहेको उनले बताए ।

जिल्ला अस्पताल सल्लेमा आव २०७४–०७५ मा ३८, २०७५–०७६ मा ४७, २०७६–०७७ मा २०, २०७७–०७८ मा ४१ र २०७८–०७९ मा ५७ जटिल खालको समस्या भएका गर्भवतीको अप्रेशन हुँदा चौरजहारी अस्पतालमा आव २०७४–०७५ मा १२४, २०७५–०७६ मा १०६, २०७६–०७७ मा १११, २०७७–०७८ मा ११५ र २०७८–०७९ मा १३९ को अप्रेशन भएको थियो ।

जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध भएपछि जटिल खालको समस्या भएका गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै सेवा दिँदा मातृ तथा शिशु मृत्युदरमा समेत कमि आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १५:०९