सूचनाको शक्ति - The Power Of Information

        

किसानको प्रथामिकतामा स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै

जुम्ला । स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । असिना र खडेरीका कारण यहाँको स्याउमा गिरावट आउने भएकोले स्याउ बीमालाई किसानले प्रथामिकतामा पारेका हुन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका स्याउ बीमा कार्यक्रमका संयोजक लक्षिराम महत किसान स्याउ बीमा प्रति उत्साहित देखिएको बताउँछन् ।
किसानले प्रति बोट स्याउको ४२ रुपैयाँ बीमा स्वरुप संकलन गर्नुपर्छ । अहिले कर्णालीका ३५ हजार किसानले स्याउ खेती बीमा गरिसकेका छन् । सबै जिल्लामा शिखर इन्स्योरेन्स कम्पनीले स्याउ बीमा गर्दै आइराखेको छ । कालिकोटमा १०९ जनाका ३ हजार ७०० स्याउको बिरुवाको बीमा गरिएको छ ।
मुगुमा २३१ जनाको ६ हजार ३५३ बिरुवा, डोल्पाका १०७ किसानका ५ हजार ६५३ स्याउ बिरुवाको बीमा गरिएको छ । जुम्लाका ७०० किसानका २१ हजार स्याउको बीमा भइसकेको बीमा कम्पनी कर्णाली इन्चार्ज क्रृषिराम पाण्डेले जानकारी दिए । उनका अनुसार हुम्लामा पनि स्याउ बीमा कार्यक्रम शुरु भइसकेको छ ।
त्यस्तै कर्णालीका ३६ हजार ७०६ स्याउका बिरुवाको बीमा गरिएको हो । बीमा गरेमा असिना र खडेरीले उत्पादन घटेमा क्षतिपूर्ति स्वरुप रकम पाइन्छ । असिनाले क्षति पुर्याएमा प्रतिबोट ५०० र खडेरीले नष्ट गरेमा प्रतिबोट २ हजार बीमा रकम पाइने गरेको छ । ६० मिलीमिटरभन्दा कम पानी परेमा बीमितले रकम पाउने प्रावधान छ । गतवर्ष जुम्लाका १४७, कालिकोटका ७२, डोल्पाका ६९ र मगुका ६५ जनाले स्याउको बीमा रकम पाएका थिए ।
असिना र खडेरीले स्याउ नष्ट गरेमा पीडित किसानलाई जम्मा गरेर एक मुष्ट रकम उपलब्ध हुने गरेको इन्चार्ज पाण्डे बताउँछन् । किसानले अघिल्लो वर्ष न्यूनतम २ हजार ९९० रुपैयाँ देखि १६ हजार रुपैयाँ सम्म बीमाकंन रकम पाएका हुन् । घरैदैलोमा स्याउको बीमा गर्न पुग्छन् । स्याउ बीमाको मर्म र भावना बुझेर बीमा हुने गरेको छ । जुम्लाको चन्दननाथ, पातारासी, गुठिचौर, तातोपानी र सिजा गाउँपालिकामा स्याउ बीमा कार्यक्रम लागु भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०६:०६