सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द, बिरामी मर्कामा

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिए ।

बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए ।

‘गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए ।

उनले बिरामीहरु मर्कामा परेपछि ललितपुरस्थित बिरङ्गको हेड अफिसले एक हप्तालाई पुग्ने सामानको पैसा पठाइदिएको र त्यसैको आधारमा डायलाइसिसलाई आवश्यक पर्ने सामान मगाएको बताए । उनले भने आइतवार साँझबाट सेवा शुरु गर्ने प्रयासमा हामी छौं ।’

शाहका अनुसार बिरामीहरुले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् ।

यो सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । नेपालगञ्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ ।

सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगञ्ज मेडिकल कलेजबाट पाउँछ । तर आफूहरुले १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजर शाह बताए ।

शाहका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा सेवा रोकिएपछि बिरामीहरुलाई अरु नै अस्पतालमा पठाउनु परेको छ । डायलाइसिस सेवा भेरी अस्पतालमा भए पनि धेरै मेसिन नभएकाले बिरामीहरुले पालो नै नपाउने समस्या रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार १७:५७