सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

महंगीको मारमा नागरिक, चुपचाप सरकार

महंगीका कारण नागरिकको घरमा बिहान बेलुका चुल्हो बल्नै छोडिसकेको छ ।

दशैंकै मुखमा आयल निगमले मट्टितेल तथा डिजेलको मूल्य वृद्धि गर्यो । अब यातायात व्यवसायीहरुले पनि डिजेलको मूल्य बढेको बहाना बनाएर दशैंको समयमा सार्वजनिक सवारीसाधनको भाडा अभिवृद्धि गर्न सरकारलाई दबाब दिनेछन् । सरकारले पनि अब यातायात व्यवसायीहरुको कुरा सुनेर भाडा बढाउँछ र नागरिकलाई मारमा पार्छ । अब नागरिक झन् दशैंको समयमा महंगोको मारमा पर्ने छन् । सरकारले एक वर्षमा चार पटक सार्वजनिक यातायातको भाडा बढायो र अब दशैंको समयमा डिजेलको मूल्य बढेको बहाना बनाएर यातायात व्यवसायीहरुले अग्रिम टिकटको बुकिङ् भाडा नबढाइ खोल्दैनन् ।

यसरी भाडा बढेपछि आर्थिक कमजोर भएका मानिसहरु दशैं मान्न आफ्नो गाउँघर समेत जान पाउँदैनन् । दशैंको मुखमा यसरी निगमले डिजेल र मट्टितेलको मूल्य अभिवृद्धि गर्दा कुनै पनि संगठन मूल्य फिर्ता लिनका लागि सडकमा उत्रिएको छैन । साथै यता प्रमूख प्रतिपक्षी दल एमाले पनि यो मूल्य वृद्धि फिर्ता लिनका लागि न सदनमा बोल्छ न सडकमै उत्रिन्छ । अहिले नागरिकहरु भन्छन् के नेपालको सदनमा विपक्ष दल एमाले पनि छ र । यदि भएको भए सदनमा किन महंगीको विरोध गरिँदैन । के विपक्ष दल एमाले डरका कारण दुलोमा छिरेको हो ? नागरिकको आवाज उठाउन नसक्ने एमालेलाई निर्वाचनमा मत देलान् ?

२०७४ सालको चुनावमा त केपी ओली शर्माको उखान टुक्काले काम गरेको थियो र नागरिकले मत दिएका थिए तर अब ओलीको उखान टुक्काले काम पनि गर्ने छैन र नागरिकले मत पनि दिने छैनन् । महंगीको त विरोध गर्न नसक्ने एमाले पार्टीले सरकारमा पुगेर देश र नागरिकको हितमा काम गर्छ भनेर नागरिकले कसरी विश्वास गर्ने ? एमालेबाट चुनाव जितेर गएका सांसदहरु सदनमा नुन खाएर झोक्रिएको कुखुरा जस्तो देखिन्छन् वा सदनमा निदाएर बसिरहेको भेटिन्छन् । सदन त नागरिकको कुरा उठाउने थलो हो, तर एमालेबाट गएका सांसदहरु सदनमै निदाएर बस्छन् ।

उनीहरु न नागरिकको लागि सदनमा केही बोल्छन् न केही गर्छन् । नागरिकले तिरेको करबाट तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन् तर सदनमा नागरिकको कुरा उठाउनुको साटो निदाएर बस्छन् । विपक्ष दल एमाले सदनमा कमजोर हुँदा वा नागरिकको आवाज नउठाउँदा आज नागरिक महंगीका कारण भोकभोकै मर्ने दिन आइसकेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली सदनमा गएर नागरिकको कुरा उठाएको पनि देखिँदैन र अगामी चुनावमा नागरिकले एमालेलाई बहुमत दिन्छ र फेरि पनि एमालेको नै सरकार आउँछ भनेर खोक्रो भाषण र नानाथरीका आश्वासन दिँदै हिँडिरहेका हुन्छन् ।

२०७४ सालको चुनावमा देशैभरिका नेपाली नागरिकले एमालेलाई भोट दिएर ठुलो पार्टी बनाए । यसरी नागरिकले एमालेलाई ठुलो पार्टी बनाएपछि एमालेले सरकार बनायो । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए, तर सरकार चलाउन नसकेर दुई पटक सांसद विगठन गरे । यसरी सरकार चलाउन नसकेर दुई पटक सांसद विगठन गरेको एमालेलाई के अब पनि नागरिकले कुन आधारमा के का लागि भोट देलान् ? अहिले बजारमा नागरिकहरु भन्छन् अगामी चुनावमा एमालेले बढीमा ७–८ सिट जित्छ ।

एमाले अब पाँच वर्षसम्म विपक्ष दल भएर सदनमा बस्नेछ । अहिले विपक्ष हुँदा पनि नागरिकको कुरा उठाउन सकेको छैन भने चुनावपछि पनि सदनमा नागरिकको कुरा उठाउन सक्ने छैन । महंगी घट्दैन विपक्ष दल एमाले विरोध गर्न सक्दैन । जहाँ विपक्ष दल बलियो हुन्छ त्यहाँ सरकारले काम गर्छ, तर जहाँ विपक्ष दल नै कमजोर हुन्छ, त्यहाँ सरकार पनि भ्रष्टाचार गरेर काम नगरी बस्छ । साथै अब दशैंको अवसरमा विभिन्न व्यापार तथा व्यवसायी गर्नेहरुले पनि सामानको मूल्य बढाउने गर्छन् । राजनीतिक दलका विद्यार्थी संगठन र उपभोक्तावादीहरु अहिले कहाँ हराए, कुन दुलोतिर छिरेका छन् ।

अहिले किन महंगीको विरोध उनीहरु सडकमा आउँदैनन् । महंगीका कारण नागरिकको घरमा बिहान बेलुका चुल्हो बल्नै छोडिसकेको छ । यता सरकार पनि बजार अनुगमन गर्दैन भने व्यापारीहरु पनि नागरिकलाई ५ रुपैयाँको सामान १५ रुपैयाँमा बेचेर ठगिरहेका छन् । यस्तो हुँदा पनि नागरिकको आवाज भन्ने राजनीतिक दलका विद्यार्थी संगठनका नेताहरु व्यापारीले सामानको मूल्य बढाएर नागरिकलाई बाँच्नै नसक्ने अवस्थामा पुर्याउँदा चुइक्कसम्म बोलेका छैनन् । यिनीहरु अहिले दशैं मान्नका लागि व्यापारीसँग खर्च र आयल निगमसँग कमिशन वा चन्दा लिइरहेका छन् ।

यिनीहरु व्यापारी र आयल निगमको अगाडि कमिशन वा पैसा खाएर लम्पसार पर्ने अनि नारा भने चाहिँ नागरिकको लगाउने गर्छन् । विद्यार्थी संगठनमा भएका नेताहरुको न जागिर नै छ न कुनै व्यापार, व्यवसाय नै रहेको छ । यिनीहरुको पेशा नै राजनीति हो, तर राजनीतिले मात्र त पेट भर्दैन त । आफ्नो पेट भर्नका लागि त पैसाको पनि त आवश्यकता पर्छ नि त । यिनीहरु दिउँसो महंगी वा आयल निगम र व्यापारीको विरोध गर्छन् र रात उनीहरुकै घरमा कमिशन लिन पुग्छन् । यिनीहरुले दुइटा रुप धारण गरेर सोझासाझा नागरिकलाई उल्लु बनाइरहेका छन् ।

यस्ता दोहोरो चरित्र भएका नेताहरुबाट नागरिकले के आशा गर्ने र यस्ताबाट देशमा विकास हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? यिनीहरु त आयल निगम र व्यापारीहरुबाट चलाएको संस्था हो । व्यापारीहरुले मूल्य बढाउँदा त्यसको विरोध विद्यार्थी संगठनले गर्ने गर्छ, तर पहिला मूल्य बढाउनु अघि नै व्यापारीहरुले विद्यार्थी संगठनको मुख बन्द गर्नका लागि पैसा दिने गरेको हुन्छ । यसरी पैसा वा कमिसन पाएपछि विद्यार्थी संगठनहरु चुपचाप बस्छन् भने उद्योगी व्यापारीहरुले नागरिकलाई ठग्ने गर्छन् । एउटालाई पैसा भए पुग्छ भने अर्कोलाई नागरिक ठग्न पाए पुग्छ ।

राजनीतिक दल वा राजनीतिक दलका विद्यार्थी संगठनहरुलाई यसरी कमिशन तथा पैसा दिएर व्यापारीहरुले नागरिक ठगिरहेका छन् । राजनीति गर्ने व्यक्ति वा राजनीतिक दलका विद्यार्थी संगठनहरुका कुनै जागिर हुँदैन । जसले गर्दा यिनीहरु भन्ने समय नागरिक र राष्ट्र भन्छन् तर काम गर्ने समयमा व्यापारीहरुको गर्ने गर्छन् । यसरी व्यापारीहरुले राजनीतिक दललाई कमिशन वा पैसा दिनुपर्दा उनीहरु सामानको मूल्य बढाउँछन् र नागरिक लुट्छन् । यहाँ नाम भने नागरिकको लिइन्छ तर काम भने व्यापारीको गरिन्छ । नागरिकको नै नाम बेचेर आफू कमाउने र पदमा पुग्ने, तर पनि नागरिक ठग्न नछोड्ने ।

के व्यापारीहरुले विघार्थी संगठनलाई पैसा दिएर पर्दाभित्र बसेर नागरिक ठग्नु अपराध होइन र ? पछिल्लो समय पसलै पिच्छे सामानको मूल्य फरक र सार्वजनिक सवारीसाधनले यात्रुसँग मनलागि भाडा लिइरहेको पाइन्छ । तर यस्तो हुँदा पनि महंगीको विषयमा न राजनीतिक दलहरु सदनमा कुरा उठाउँछन्, न सरकार नै बजार अनुगमन गर्छ । देश राजनीतिक दल वा सरकारले चलाउनुपर्ने हो, तर राजनीतिक दललाई अहिले व्यापारीले नियन्त्रणमा लिएका छन् । अब झन् निर्वाचन आउन लागेको छ, अब झन् व्यापारीले सामानको मूलय बढाउँछन् र राजनीतिक दल वा विद्यार्थी संगठन चुपचाप बस्छन् ।

किनभने यदि यिनीहरु चुपचाप बसेनन् भने अगामी निर्वाचनका लागि यिनीहरुले खर्च कताबाट जुटाउने ? व्यापारीहरुले आगामी चुनावका लागि राजनीतिक दललाई दिएको पैसा अब व्यापारीहरुले सामानमा जोडेर नागरिकसँग असुल्ने गर्छ । पैसा खानेबेला राजनीतिक दलहरु खान्छन् र त्यसको भुक्तानी भने नागरिकले गर्नुपर्छ । पछिल्लो समय बजारमा दिउँसो दुई गुना र राती चार गुना सामानको मूल्य व्यापारीहरुले बढाइरहेका छन् । तर यो मूल्य अभिवृद्धिको बारेमा विरोध गर्ने उपभोक्तावादी भनेर ढ्वाँङ्ग फुक्दै हिँड्ने प्रेम महर्जन, जोती बानियाँ र माधव तिल्मसिना सडकमा उत्रिँदैनन् ।

यिनीहरु पनि दिउँसो मिडियामा महंगीको विरोध गर्छन् भने राती व्यापारीको घरमा कमिशन लिन पुग्छन् । न यिनीहरुले गरेको विरोध व्यापारीले नै सुन्छ न नागरिक नै यिनीहरुको साथमा छन् । यिनीहरु सञ्चारमाध्यममा महंगीको विरोध गरेर हिरो बन्छन् र व्यापारीहरुसँग पैसा खाने गर्छन् । यिनीहरु जस्ता दलालीहरु नागरिकको नाम बेच्छन् र आफू कमाउने गर्छन् । यिनीहरु व्यवसायीले पालेका सघसंस्थाहरु हुन् । यिनीहरु पैसा नदिने व्यापारीहरुको विरोध गर्छन् भने पैसा दिनेले जतिसुकै महंगो, बिग्रिएको सामान बेचे पनि विरोध गर्दैनन् । यिनीहरुले अफिसको भाडा तिर्न र घर खर्च चलाउन व्यापारीबाटै असुल गर्छन् ।

साथै संस्थाको साधारण गर्दा त्यहाँ लाग्ने खर्च पनि सबै व्यापारीहरुबाट नै लिने गर्छन् । जो व्यापारीसँग खर्च लिएर आफ्नो स्वार्थ पुरा गर्छ, के त्यस्तो मानिसहरुले पनि नागरिकको हितमा काम गर्छ ? यस्ता सघसंस्थाहरुले नागरिकको भन्दा व्यापारीहरुको हितमा काम गर्दा आज महंगीले सीमा नाघ्यो र गरिबहरु मर्ने दिन आयो । अहिले पनि हामी नेपाली नागरिक महंगीले सीमा नाघ्दा पनि सडकमा उत्रिँदैनौं र अर्कोले गरिदिए हुथ्यो भनेर चुपचाप बस्छौँ । अब नागरिकहरु कि महंगीको विरोधमा सडकमा आउनुपर्छ होइन भने यस्ता राजनीतिक दललाई बहिष्कार गर्नुपर्छ । राजनीतिक दलहरुले व्यापारीसँग पैसा नलिने र सामानको मूल्य निर्धारण सरकारले गर्ने हो भने अहिले बजारमा रहेको सामानको मूल्य ह्वात्तै घट्नेछ ।

कुनै समय व्यापारी तथा भारतको चर्को विरोध गर्ने राजनीतिक दलहरु अहिले भारतकै अगाडि लम्पसार परेर व्यापारीसँग आर्थिक लेनदेन गरे । राजनीतिक दल तथा विद्यार्थी संगठनको नेता बन्ने बित्तिकै काठमाडौँमा घडेरी किन्छन्, पार्टीलाई करोडौं पैसा दिएर टिकट लिन्छन्, करोडौं खर्च गरेर चुनाव जित्छन् । अनि यो सबै पैसा चाहिँ कताबाट आउँछ ? राजनीतिक दल वा विद्यार्थी संगठनले नागरिक र राष्ट्रको हितभन्दा आफ्नो र व्यापारीकै हितमा काम गरेको पाइन्छ । अहिले पनि कति व्यापारीहरु राजनीतिक दललाई पैसा दिएर सांसदसमेत बनेका छन् । राजनीतिक दलहरु पनि नागरिक र राष्ट्रको नाम लिन्छन् र काम गर्ने बेला व्यापारीकै गर्छन् ।

यिनीहरु पनि व्यापारीसँग नै आर्थिक लेनदेन गरेर धन सम्पत्ति जोड्ने गर्छन् । यिनै दल वा सरकारले विदेशी ऋण लिएर देशलाई डुबाए, एक जोर चप्पल किन्न नसक्ने नागरिकको टाउकोमा आज विदेशी ऋण ७१ हजार पुर्याए । आफूले विदेशीसँग ऋण लिएर मोजमस्ती गरे तर हामी नागरिकको टाउकोमा ऋण बोकाए । पछिल्लो समय राजनीतिमा धेरै बेथिति मौलाएको छ, राजनीति सेवा नभई व्यापार बनिरहेको छ । यस्तो हुँदा पनि शुद्धीकरण विभागले यिनीहरुको सम्पत्ति छानविन गरेको छैन । अब विभागले यस्ता ठग राजनीतिक दल र विद्यार्थी संगठनहरुको सम्पत्ति छानबिन गर्ने हो भने यिनीहरुले कमाएको सम्पूर्ण सम्पत्ति बाहिर आउनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १६:११