सूचनाको शक्ति - The Power Of Information

        

दूधमा आत्मनिर्भर बन्दै सल्यान

फाइल तस्वीर

गत आर्थिक वर्षमा सल्यानमा १९ हजार मेट्रिक टन बढी दूध उत्पादन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १९ हजार १४४ मेट्रिक टन दूध उत्पादन भएको हो ।

उत्पादन भएको मध्ये ८० प्रतिशतभन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लाबाट वार्षिक १२.४ प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

जिल्ला बाहिर निकासी भएको दूधबाट ७ लाख ४४ हजार रुपैयाँ किसानको हातमा परेको उनको भनाइ छ । ‘जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ,’ उनले भने ।

आर्थिक वर्ष २०७७–०७८ सल्यानमा झण्डै दुई करोड लिटर दूध उत्पादन भएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको थियो ।

कार्यालयका अनुसार जिल्लामा १९ हजार १६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ । १७ लाख ३ हजार दूध निकासीबाट ९५ लाख १५ हजार रुपैयाँ भित्रिएको कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।

दूध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रमअन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपूरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रूपमा विकास गरेको छ । दार्मा गाउँपालिकाबाट मात्र दैनिक २ हजार लिटर दूध निकासी हुने गरेको कार्यालय प्रमुख उपाध्यायले बताए ।

कार्यालयले पशुपालन व्यवसायमा संलग्न कृषकलाई सहज होस् भनेर पशु आहारका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारका सहयोग, क्षमता अभिवृद्धि कार्यक्रम, अनुदान रकम र विभिन्न सामग्री प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आइरहेको उनको भनाइ छ । जसले गर्दा व्यवसाय बढ्नुका साथै दूध उत्पादनमा वृद्धि आएको उनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १४:३७