सूचनाको शक्ति - The Power Of Information

        

पहिरोको उच्च जोखिममा ‘नलगाडको पिपल चौर’

जोखिममा रहेको नलगाडको पीपल चौर बस्ती ।

जाजरकोटको नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठुलो पानी परेको दिन रातभर सुत्न पाउनु हुन्न । पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौ रावलले भने, ‘पहिरोले बस्ती नै जोखिममा छ ।’

बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो । पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताए ।

कालीमाटी सिक्रे सडक निर्माणले यहाँका ५० घरधुरीमा असर परेको गौतमले बताए । पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षति पुग्नेछ । पहिरो रोकथाम तथा नियन्त्रणतर्फ कतैबाट पनि पहल हुन नसकेको पिपल चौरका राजेन्द्र रावलले बताए ।

‘यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ,’ रावलले भने, ‘पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन् ।’ वडाध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घर र जग्गा निकै जोखिम भइसकेको बताए ।

यो सबै जथाभाबी सडकको कटानको कारण भएको वडाध्यक्ष पन्तको भनाई छ । ‘यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौँ, जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ कि नत्रभने गाह्रो छ,’ पन्तले भने ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाई छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०८:४०