सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

अब निगमले सोही मूल्य सूचीअनुसार आइओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।

नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ । आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । बिहीबारको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ । आइओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ ।

सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्दछ । पछिल्लो समय इन्धनको मूल्य सामान्य बढेर आए पनि नेपालमा भने यथावत रहने छ । यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १६:३४