कर्णालीको हवाई सेवा ठेक्कामा : यात्रुलाई सुविधाभन्दा सास्ती धेरै
।
मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्जका लागि उड्न तयारीमा तारा एयरको जहाज । तस्बिर : काशीराम शर्मा
तिलक गाउँले । काशीराम शर्मा । ताल्चा (मुगु) । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु हवाई यातायातसँग जोडिएका छन् । नेपालगन्ज र सुर्खेत हुँदै नेपाल एयरलाइन्स, सीता, तारा, गोमा, मकालु, र समीट एयरले ती जिल्लाहरुमा उडान भर्दै आएका छन् । तर, विमान कम्पनीहरुको मनपरी उडानले ती जिल्लाका सर्वसाधारणहरुसँगै कर्णाली घुम्न जाने पर्यटकहरुले पनि धेरै सास्ती खेप्ने गरेका छन् ।
टिकट लिएर हप्तौंसम्म जहाजको पर्खाइमा नेपालगन्ज र सुर्खेत विमानस्थलमा कुर्नु यात्रुहरुको दिनचर्या नै बन्ने गर्दछ । हप्तामा एक दिनमात्रै उडान भर्ने नेपाल एयरलाइन्सको उडान कुन दिन हुने भन्ने नै टुंगो लाग्दैन भने अन्य विमान कम्पनीहरुको अवस्था पनि त्यही हो । कर्णालीका पर्यटकीय स्थलहरु राराताल, शे–फोक्सुन्डो, हुम्ला हुँदै कैलास मानसरोवर जाने पर्यटकहरुलाई उडान कम्पनीहरुको सिन्डिकेटको मारमा पर्ने गरेका छन् ।
जसका कारण सयौंको संख्यामा पर्यटकहरु नेपालगन्ज विमानस्थलमा अलपत्र पर्ने गरेका छन् । मुगुको ताल्चा विमानस्थलमा नियमितरुपमा उडान भर्ने तारा एयर भए पनि ठेक्कामा भएका कारण यात्रुभन्दा ठेकेदारकै मान्छेहरुले भरिने गरेका छन् । ठेक्काकै कारण उडान भए पनि सर्वसाधारण र पर्यटकहरुले तारा एयरको सेवा लिन सकेका छैनन् । तारा एयर जस्तै अन्य विमान कम्पनीको पनि एउटामात्र जहाज भएका कारण कुन समयमा कुन जहाजले कहाँ उडान भर्ने भन्ने अत्तोपत्तो हुँदैन ।
पर्यटकहरु सम्बन्धीत ठाउँमा पुगे पनि उनीहरु फर्किने कुनै टुंगो हुँदैन । पर्यटकहरुलाई कुन विमानले कुन समयमा उडान भर्छ भन्ने नै विमान कम्पनीले जानकारी दिँदैनन् । विमान कम्पनीहरुले बाजुरा, हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आइरहेका छन् । मुगुमा तारा एयर सञ्चालनको ठेक्का भिजिट कर्णालीका राजु कार्कीले पाएका छन् भने सीता एयरको ठेक्का सिम्रिका एयर कार्गो सर्भिसका मनोज भारती र भिजिट राराका होमराज भामले पाएका छन् । कार्कीले काठमाडौंबाट सिधै पर्यटकहरु ल्याउने र रारा ताल किनारमा उनकै भिलेज हेरिटेजमा पर्यटकहरु लाने गर्छन् ।
सीता एयरको यात्रा गर्ने यात्रुहरु भारतीले सञ्चालन गरेको सिम्रिका एयर कार्गो सर्भिसकै माध्यम भएर जानुपर्ने बाध्यता छ । जसका कारण आफुखुशी गएका पर्यटकहरु विमानस्थलमा टिकट नपाएर अलपत्र पर्ने गरेका छन् । त्यससँगै सिकिस्त विरामी, अत्यावश्यक काम परेका र स्थानीय सर्वसाधारणहरु जहाज कुर्नुभन्दा तीन दिनसम्मको गाडीको यात्रा गर्न बाध्य छन् । ताल्चा विमानस्थलमा विमान कम्पनीका एजेन्टहरुले गर्ने तुच्छ र अमानवीय व्यवहारका कारण पर्यटकहरुले अपमानित र असुरक्षित महसुस गर्नुपर्छ ।
‘जहाज पनि ठेक्कामा चल्दो रहेछ,’ काठमाडौंबाट आफ्नै पहलमा रारा पुगेकी मन्दिरा पोख्रेल भन्छिन्, ‘विमान कम्पनीका एजेन्टहरुको व्यवहारले पर्यटकहरु आजित हुन्छन् ।’ उनले रारामा पर्यटकहरुले असुरक्षित महसुस गर्नुपरेको अनुभव सुनाइन् । ‘टिकटको कुरा गर्न खोज्दा अमानविय र तुच्छ व्यवहार सहनुपर्छ,’ उनले भनिन्, ‘खाने बस्ने व्यवस्था छैन, सामान्य खर्चमा पुगेको पर्यटकले बेखर्ची भएर भोकै बस्नुपर्ने अवस्था आउँछ । त्यसमा झनै विमान कम्पनीका एजेन्टहरु दादागिरी र व्यवहारले पर्यटकलाई निकै दुखी बनाउँछ ।’ काठमाडौंबाट रारा पुगेकी मन्दिरा पोख्रेलको भनाई :
कर्णाली रारा पर्यटन वर्षकै अवसर पारेर काठमाडौंबाट ताल्चा पुगेकी पोख्रेलले खर्चविहिन भएको गुनासो सुनाउँदै भनिन्, ‘एक बोतल पानीको एक सय रुपैयाँ, सादा खानाको ६ सय रुपैयाँसम्म तिर्नुपरेको छ । प्रदेश सरकार नै पर्यटनमैत्री छैन, यहाँ कसरी हुन्छ पर्यटनको विकास ?’ उनका अनुसार एक पटक आएको पर्यटकलाई अर्को पटक आउँदा सोच्नुपर्ने हुन्छ । नेताहरुले जति भाषण र शासन गरे पनि उनीहरु आफै पर्यटक र पर्यटनमैत्री नभएको उनको भनाई छ ।
कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा केन्द्रीय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले आकर्षक भाषण नै गरे । उनले भने, ‘आन्तरिक पर्यटन विना बाह्य पर्यटनको विकास हुन सक्दैन । कर्णालीको विकास र समृद्धिका लागि रारासँगै यहाँका विशिष्ट पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नुपर्छ ।’ समृद्ध कर्णालीका लागि सुर्खेत विमानस्थलको कामलाई अघि बढाएको पर्यटन मन्त्री अधिकारीले बताए । उनले अब कर्णाली प्रदेशका सबै विमानस्थलहरुमा हवाई सेवाको सहज पहुँच बनाउन सुर्खेत विमानस्थलमा एटिआर विमानले उडान भर्नसक्ने बनाएको दावी गरे । केन्द्रीय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा गरेको भाषण :
केन्द्र सरकारका पर्यटन मन्त्री अधिकारीले सेवा र सुविधाको पहुँच वृद्धिका कुरा गरिरहँदा प्रदेश सरकारका पर्यटन मन्त्रीले ताल्चा विमानस्थलमा पर्यटकहरुसँग गरेको व्यवहारले पर्यटन विकासले गति लिनेमा शंका गर्न सकिन्छ । प्रदेश सरकारले लाखौं रकम खर्चिएर पर्यटन वर्षको उद्घाटनको दुई दिनपछि नै रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेश सरकारका मन्त्रीहरुले व्यवहारले समेत खिन्न बनयो । ‘प्रदेश सरकारका पर्यटन मन्त्री नन्दसिंह बुढाको व्यवहार निकै तुच्छपूर्ण रह्यो,’ काठमाडौंबाट रारा पुगेर फर्किने क्रममा ताल्चा विमानस्थलमा अलपत्र परेकी निरु ढकालले भनिन्, ‘हामीले पाएको दुख र गुनासाहरु मन्त्रीज्यूलाई सुनाउन खोज्दा ‘तिमीहरुलाई यहाँ कसले बोलाएको ?’ भनेर उल्टै हप्काउनु भयो ।’
रारा पुगेका पर्यटकमाथि पर्यटन मन्त्री बुढाले गरेको यो प्रश्नले ढकाललाई सोंचमग्न बनायो । उनले भनिन्, ‘कर्णाली रारा पर्यटन वर्षको सुरुवात गरिरहँदा पर्यटन मन्त्रीको यो अभिव्यक्तिले सायद लाग्छ उनैलाई थाहा छैन आफ्नो पद र पदीय मर्यादा ।’ मन्त्रीको त्यो व्यवहारले तीन दिनदेखि अलपत्र परेका एकजना विदेशी पर्यटकले त प्रदेश सरकारका मन्त्रीहरुको व्यवहारबाट आजित हुँदै ‘कुकुरजस्ता मन्त्री’ सम्म भन्न भ्याए । पर्यटकको व्यवस्थापनका विषयमा त प्रदेश सरकारले सोच्नुपर्ने होइन र भन्ने प्रश्नमा पर्यटन मन्त्री बुढाले ‘तपाई धेरै गीत नगाउनुस्, जे मन लाग्छ त्यसै गर्नुस्, पर्यटकको ठेक्का हाम्रो होइन’ भन्दै असभ्यरुपमा प्रस्तुत भए ।
सामाजिक विकास मन्त्री दल रावलले भने यस विषयमा आफूहरु संवेदनशील रहेको बताए । उनले भने, ‘हामी निकै संवेदनशील भएका छौं । मैले क्याविनेटमा यस विषयमा छलफल गर्छु ।’ कर्णाली प्रदेशका सांसद सुशील थापाले सरकारले सांसदहरुको समेत सुझाव नलिएरै मनोमानीरुपमा अघि बढेकाले यस विषयमा संसदमा कुरा उठाउने बताए । अर्का सांसद पद्मा खड्काले भनिन्, ‘गुनासाहरु धेरै आएका छन्, सांसदहरुले दिएका सुझावसमेत सरकारले ग्रहण गर्न नसक्दा यो समस्या भएको हो । यस विषयमा संसदमा कुरा हुन्छ ।’ पर्यटन वर्षलाई भव्य र सभ्य बनाउन उद्घाटन गरेर मात्र नहुने भन्दै सांसद खड्काले पर्यटकहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवार भएर सोच्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारका मन्त्रीहरु पर्यटकको व्यवस्थापनमा भन्दा आफ्नो स्वार्थका पछि लाग्दा गुनासाहरु आएका हुन् । मन्त्रीहरु नै पर्यटनमैत्री हुनुभएन जसका कारण रारा पुगेका पर्यटकहरुले दुख पाउनुभएको छ । यस विषयमा हामी संसदमा कुरा गर्छौ ।’ प्रदेश सरकारका मन्त्रीहरुकै कारण ताल्चा विमानस्थलमा पर्यटकहरुले निकै समस्या झेल्नुपरेको बताए । प्रदेश सरकारका मन्त्रीहरुले पर्यटनमैत्री प्रदेश बनाउनका लागि गरेको निर्णयलाई सार्थक बनाउने हो भने आफूहरु पनि पर्यटनमैत्री बन्न जरुरी छ ।
।