आर्थिक बर्ष २०७८–०७९ मा चीनबाट ६ अर्ब रुपैयाँको स्याउ आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट ल्याएको हो ।
उक्त मूल्यको ६ करोड ९४ लाख १८ हजार ८०० किलो स्याउ आयात भएको हो । यो अघिल्लो आव भन्दा २.८ प्रतिशतले बढी हो । अघिल्लो आव २०७७–०७८ मा ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात भएको थियो ।
२०७६–०७७ मा चीनबाट ३ अर्ब २२ करोड ७० लाख रुपैयाँँको स्याउ आएको भन्सारको तथ्यांक छ । नेपालले गत आवमा कुल ८ करोड ६७ लाख ९६ हजार १९ किलो स्याउ आयात गरेको छ । चीनबाहेक भारतबाट १ अर्ब १६ करोड २१ लाखको १ करोड ७३ लाख १३ हजार २०० आयात भएको छ ।
टर्की, अमेरिका लगायत मुलुकको स्याउ पनि आउने गरेको छ । भियतनाम र भारतबाट ड्राइ स्याउ तथा चीन र भारतबाट स्याउको जुससमेत आयात हुने गरेको तथ्यांक छ । नेपालका मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा व्यावसायिक स्याउखेती हुने गरेको छ । यहाँ यातायातको पहुँच र कोल्ड स्टोर नहुँदा बजारीकरण हुन सकेको छैन ।
सत्यपाटी । काठमाडौं ।