सूचनाको शक्ति - The Power Of Information

        

आज गणेश चतुर्थी, किन बसिन्छ व्रत ?

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ ।

तिथिको घटबढका कारण चथा पर्व मङ्गलबार नै रहेको समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख गरिएको छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवस पनि मनाउने गरिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ०८:३७