सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा औद्योगिक ग्राम

बाँकेको खजुरासहित लुम्बिनीमा २० वटा औद्योगिक ग्राम बन्दै

घनाबस्तीदेखि न्यूनतम एक किलोमिटर टाढा

लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ ।

सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् ।

१०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ ।

त्यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिएको छ ।

यी औद्योगिक ग्राममध्ये केही निर्माणाधीन अवस्थामा छन् भने केही तयारीमा रहेको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृत बालकृष्ण गैरेले जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्र घोषणा भएका स्थानीय तहले सङ्घीय सरकारसँग समन्वय गरेर कार्यान्वयनका लागि अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

औद्योगिक ग्राममा लघु, घरेलु तथा साना उद्योग सञ्चालन हुने उहाँले बताउनुभयो । “औद्योगिक ग्राममा ठूला उद्योग रहँदैनन्, लघु, घरेलु तथा साना उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो ।

औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सहयोग पुग्ने र उद्योग स्थापनाले रोजगारी सिर्जनासँगै जनताको आर्थिकस्तरमा समेत सुधार गर्ने विश्वास व्यक्त गरिएको छ ।

आव २०७६÷७७ देखि लागू हुने गरी सरकारले हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने नीति अगाडि सारेको थियो । औद्योगिक ग्राम स्थापनाका लागि तराईमा सात बिघा जमिन, पहाडी क्षेत्रमा ३५ रोपनी र हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा २५ रोपनी जग्गा हुनुपर्ने न्यूनतम मापदण्ड तोकिएको छ ।

औद्योगिक ग्राम घनाबस्तीदेखि न्यूनतम एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था छ । गाेरखापत्रमा खबर छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ०८:०६