सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी कार्यालयबाटै ९०० किलो चिनी गायब

प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब ९०० किलो चिनी कार्यालयबाटै हराएको छ ।

एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको रेकर्ड छैन ।

सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ । प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् ।

छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ । एसपी राठौर राजनीतिक नेतृत्वलाई खुशी बनाई पर्सा, मकवानपुर हुँदै कैलाली जिल्लाो इन्चार्ज पाउन सफल प्रहरी अधिकृत हुन् । आफ्नो ब्याचमा उनले सबैभन्दा धेरै जिल्ला इन्चार्ज पाएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा कैलालीमा तस्करीको समेत लाइन खुलेको स्रोत बताउँछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १६:०८