सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

शेयर लगानीकर्ताको रुवाबासी

छिटो नाफा कमाउनका लागि वित्तिय संस्थाहरुले अन्धाधुन्ध रुपमा लगानी गर्दा आज नागरिकको रकम वालुवामा पानी भएको छ ।

हामी नेपालको महान् चाड दशैँ आइसक्यो, तर यसपालिको दशैँ शेयर लगानीकर्ताहरुका लागि खल्लो बन्न पुगेको छ । शेयरको मूल्य घटेसँगै लगानीकर्ताले न शेयर धितो राखेर वित्तिय संस्थाबाट लिएको कर्जा तिर्न सकेका छन् न दशैँ मनाउनका लागि पैसा जुटाउन नै सकेका छन् । अहिले ५२ लाख शेयर लगानीकर्ताहरु शेयरको मूल्य घटेर वा डुबेर दशैँ मान्ने पैसा समेत नभएको भन्दै रुँदै हिँडिरहेका छन् । अहिले पनि यिनीहरु बजारमा शेयरको मूल्य बढ्ला र शेयर बेचेर दशैँ मान्न आफ्नो गाउँघर जाउँला भनेर कुरिरहेका छन् । एकतिर तीन हजार कित्तामा किनेको एक कित्ता शेयर अहिले सय रुपैयाँमा बिक्री हुँदैन, अर्कोतिर ऋण लिएर त्यहीँ शेयर किनेको पैसा तिर्न सकिरहेका छैनन् ।

यता शेयर किन्दा डुबेको बारे थाहा पाएपछि आफन्तहरुले पनि ऋण दिँदैनन् । अहिलेको पालि शेयरमा लगानी गर्ने नागरिकहरुको दशैँ दशामा परिणत हुँदैछ । कति नागरिकहरु शेयरले डुबायो मलाई भन्दै बाटामा बौलाएर हिँडिसकेका छन् । अहिले शेयरमा लगानी गर्ने व्यक्ति त डुबि नै हाल्यो, तर त्यहीँ शेयर धितो राखेर कर्जा दिएका बैक, फाइन्स तथा सहकारीहरु पनि डुब्दैछन् । शेयरको कारण अहिले धेरै नागरिकको घरघरमा रुवाबासी सुरु भइसकेको छ । शेयरको मूल्य एकदिन बढ्छ, अर्को दिन घट्छ । पछिल्लो समय बजारमा शेयरप्रति लगानी गर्नेहरु शून्य नै भइसकेका छन् । नागरिकले बुझ्दै नबुझी दलालीहरुको कुरामा लागेर शेयरमा लगानी गरे र आज त्यो लगानी डुबेपछि उनीहरु नेपाल नै छोडेर भाग्नुपर्ने दिन आएको छ ।

शेयरमा काम गर्ने दलालीहरुले सिधासाधी नागरिकहरुलाई यस्तो नराम्रोसँग फसाए र नागरिक डुबाए । अहिले दलालीहरु आफू धनी बनेर नेपाल छोडेर भागे र नागरिकलाई कङ्गाल बनाए । यसरी शेयरले यत्रो नागरिकहरुलाई डुबायो र उनीहरुको सडकको बास बनाइदियो । आफ्नो घरजग्गा बेचेर, ऋण लिएर वा आफूले जीवनभर कमाएरको पैसा बुझदै नबुझी दलालीहरुको कुरामा लागेर शेयरमा लगानी गर्दा आज ती नागरिकहरु सुकुम्बासी हुन पुगेका छन् । पछिल्लो समय शेयरमा गरेको लगानी डुबेपछि घरघरमा श्रीमान–श्रीमतिबीच दिनहुँ झै–झगडा हुने गर्दा कतिको छोडपत्रसमेत भइसकेको छ । बुढापाकाहरुले एउटा उखान भन्ने गर्थे चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी ।

अहिले शेयरमा लगानी गर्नेहरुको पनि त्यहीँ हालत भएको छ । उनीहरु नाफा कमाउन गाएका थिए अहिले आएर साँवा नै डुब्यो । एकवर्ष अगाडि एकैदिन २२ अर्ब शेयरको किनबेच हुने गथ्र्यो, तर अहिले दिनमा एक अर्ब शेयर किनबेच हुँदैन । यस तथ्याङ्कबाट शेयरमा लगानी गर्ने पुराना लगानीकर्ताहरु डुबेको र नयाँ नागरिकहरु शेयर लगानी गर्नबाट पछि हटेको भन्ने बुझिन्छ । अब झनै केही दिनपछि शेयरको दिनहुँ कारोबार घटिरहेको छ । अब शेयर बजार छिटो नै घट्ने छ । अहिले बैंक, फाइनान्स तथा सहकारीहरुसँग पैसा छैन । उनीहरुसँग डिपोजिट रकमसमेत फिर्ता गर्न पैसा छैन । अब यिनीहरुले शेयर धितो राखेर कर्जा प्रवाह पनि गर्न सक्दैनन् र यता रकम हालेर कुनै पनि नागरिकहरुले शेयर किन्न पनि सक्दैनन् ।

पछिल्लो समय जति पनि बैंक, फाइनान्स तथा सहकारीहरुले शेयर धितो राखेर कर्जा प्रवाह गरेको छ, अहिले यिनै संस्थाहरु नै डुबिसकेका छन् । अहिले पनि शेयरमा लगानी गर्नेहरुको घरखेतहरु सबै डुब्दा पनि सरकारलाई कुनै चासो छैन । बैंक, फाइनान्स तथा सहकारीहरु घाटामा गएकाले अहिले उनीहरुसँग शेयर लगानीकर्तालाई दिनुपर्ने बोनस समेत छैन । अहिले शेयरमा लगानी गर्ने नागरिकहरु मलाई शेयरले डुबायो भनेर पिरले दिउँसो नै होटेलमा मदिरा पिएर बसिरहेका हुन्छन् । हिजो नाफा हुन्छ भनेर घरजग्गा, गाडी सबै बेचर शेयरमा लगानी गरे, तर आज शेयरको मूल्य घटेर बजारमा मन्दी आइपछि उनीहरु सडक छाप भएका छन् ।

एक वर्ष अगाडि शेयर बेच्दा २० लाख आउँछ भन्ने नागरिकहरु अहिले त्यही शेयर बेच्दा तीन लाख पनि आउँदैन भन्छन् । नागरिकहरु त चुलुम्म नै डुबे । यसरी शेयरमा लगानी गरेर डुब्नुमा नागरिकहरुको पनि दोष छ । उनीहरुले बुझ्दै नबुझी दलालीहरुको कुरामा लागेर छिटो नै धनी बन्ने आशाले शेयरमा लगानी गर्दा आज नागरिकहरु डुबेका हुन् भनेर अर्थविद्हरु बताउँछन् । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पहिला नै शेयर, घरजग्गा र गाडीहरुलाई कर्जा नदिनु भनेको भए आज नागरिक र यी संस्थाहरु डुब्ने थिएनन् । पछिल्लो समय घरजग्गामा पनि त्यहीँ हालत छ । घरजग्गामा पनि मन्दी आएर यिनीहरुको खरिदबिक्री हुने काम रोकी रहेको पाइन्छ ।

एक वर्षअघि आनाको ४० लाखमा किनेको घडेरी अहिले २० लाखमा बिक्री गर्छु भन्दा पनि बिक्री हुँदैन । यता गाडीको त कुरै छोडिदिउ । २ रुपैयाँमा बिक्री नहुने फलाम भारतले गाडी बनाएर लाखौँ रुपैयाँमा नेपाललाई बिक्री गरिरहेको छ । ६ महिनाअघि १० लाखमा खरिद गरेको सवारीसाधन २ लाखमा बिक्री गर्छु भन्दा पनि बिक्दैन । वित्तिय संस्थाहरुले ९० प्रतिशत कर्जा यहीँ शेयर, घरजग्गा र गाडीमा पोखेको छ । तर पछिल्लो समय ती वस्तुहरुको मूल्य घटेर मन्दी आइपछि ऋणी पनि डुबेका छन् भने यी संस्थाहरु पनि धरायसी अवस्थामा पुगेका छन् । अहिले कति वित्तिय संस्थाहरु डुबे भनेर आफैँ हात उठाइरहेका छन् भने कतिले सञ्चारकर्मीले समाचार लेख्छन् भनेर डुबेर पनि नडुबेको नाटक गरिरहेका छन् ।

घरजग्गा, शेयर र गाडीको मूल्य बढाउने दलालीहरु वित्तिय संस्था वा व्यक्तिको ऋण तिर्न नसकेर भागिसकेका छन् । पछिल्लो समय मालपोतमा एक–दुई ओटा घरजग्गा नामसरी हुन गाह्रो छ भने यातायात कार्यालयमा पनि एक–दुई सवारीसाधनहरु नामसरी हुन धौ–धौ परिरहेको छ । वित्तिय संस्थाहरुमा पछिल्लो समय नागरिकले डिपोजिट गर्न छोडिसकेका छन् । यी संस्थाहरुमा भएको पैसा पनि नागरिकहरु निकाल्न लाइन लागेर बसिरहेका छन् । वित्तिय संस्थाहरुमा अहिले डिपोजिट गर्ने कोही छैन भने निकाल्नेको लाइन हेरेर साध्य छैन । अब पनि शेयर, घरजग्गा र गाडीको मूल्य बढ्छ भनेर कसले विश्वास गर्छ, वित्तिय संस्थाहरु नै टाप पल्टिसकेपछि पनि अब यी वस्तुहरुको मूल्य बढ्ला त ?

पछिल्लो २० वर्षसम्म पनि घरजग्गा गाडी र शेयरको मूल्य बढ्दैन र अहिले रहेको मूल्य पनि घट्छ भनेर यस क्षेत्रका अनुभवीहरु बताउँछन् । सरकारले अहिले पनि शेयर किनबेचमा प्रतिबन्ध लगाएको छैन र अहिले पनि दलालीहरुले सिधासाधी नागरिकहरुलाई शेयरमा लगानी गर्न लगाएर फसाइरहेका छन् । विभिन्न कम्पनी तथा वित्तिय संस्थाहरुले एक सय रुपैयाँ कित्तामा निष्कासन गरेको शेयर दलालीहरुले नागरिकलाई ५ सयदेखि ५ हजारसम्ममा बेचे । अहिले त्यतिधेरै पैसा हालेर शेयर किन्ने नागरिकहरु डुबिसकेका छन् । वित्तिय संस्थाहरुले पनि नाफा देखाएर वा शेयर लगानीकर्तालाई बोनस पाइने प्रलोभन देखाउँदा आज ती वित्तिय संस्थाहरु त डुबे नै, नागरिकहरु पनि उनीहरुसँगै डुब्ने अवस्थामा पुगे ।

अहिले पनि वित्तिय संस्थाहरुले शेयरको मूल्य बढाउन झुठो विवरण तयार पारेर नागरिकलाई फसाइरहेका छन् । अहिले नागरिक यस्तो नराम्रोसँग फस्नुमा वित्तिय संस्था तथा विभिन्न कम्पनीहरुको पनि हात रहेको छ । ५२ लाख शेयर लगानीकर्ताहरुको आज सडकमा बास भएको छ । उनीहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अब सरकारले सर्वसाधारणलाई शेयरमा लगानी नगरौँ भनेर सूचना जारी गर्नुपर्छ । यसले गर्दा नयाँ लगानीकर्ताहरु फस्ने छैनन् । शेयर जति कारोबार हुने गर्छ, त्यति नै सरकारलाई पनि राजस्व आउने भएकाले सरकारले नागरिकलाई फसाइरहेको छ । के सरकारले कर लिनका लागि नागरिक डुबाउन पाइन्छ ?

अब नागरिकहरुले नाफाको प्रलोभनमा शेयरमा लगानी गर्नुहुँदैन । केही महिनाअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटा कार्यक्रममा शेयरमा लगानी गर्नु भनेको जुँवा खेल्नु हो भनेर बोल्दा शेयरको मूल्य घट्यो । साथै यता एमालेका अध्यक्ष केपी ओलीले पनि शेयरमा लगानी नगर्नुस् र सतर्क रहनुस् भनेर भनेका थिए । साथै उनले यो असारे भल हो भनेर पनि भनेका थिए । उनले अहिले शेयरको मूल्य बढे पनि पछि यसको मूल्य घटेर सबै डुब्छ भनेर बताएका थिए । तर अहिले आएर त्यो कुरा साँचो भएको छ । पहिला शेयरको मूल्य बढ्दा शेयर लगानीकर्ताहरुको भुँइमा खुट्टा थिएन, तर अहिले मूल्य घट्दा उनीहरु लुकीलुकी हिँडिरहेका छन् ।

पूर्व अर्थमन्त्री युवराज खतिवडाले शेयरमा लगानी गर्ने नागरिकहरु जुनसुकै समयमा डुब्न सक्छ र यसले सम्पुर्ण सम्पत्ति नै सिध्याउँछ भनेर बताएका थिए । अब शेयर दलालीहरुको कुरामा लागेर नागरिकले शेयरमा लगानी गर्नुहुँदैन । हिजो चार हजारमा किनेको शेयर अहिले सय रुपैयाँ बिक्री हुँदैन भने केही वर्षपछि २० रुपैयाँमा समेत बिक्री नहुने नागरिकहरु नै बताउँछन् । दुःख गर्न नपर्ने र बसीबसी नाफा कमाउने लोभ र शोखमा फस्दा आज उनीहरुको भएको सम्पत्ति पनि सबै डुबिसकेको छ । अब वित्तिय संस्थाहरुले नाफा कमाउन सक्दैनन् र यिनीहरुले बोनस पनि दिन सक्दैनन् । पछिल्लो समय शेयर लगानीकर्ताहरु शेयरको मूल्य बढाउने आशाले राजनीतिक पार्टीको झोला बोकेर हिँडिरहेका छन् ।

शेयर लगानीकर्ताहरुले शेयरको मूल्य घट्यो भनेर आन्दोलन गरे, अनसन बसे, राजनीतिक दलको ढोकाढोकामा पुगे, तर शेयरको मूल्य बढेन । अहिले नागरिकहरु शेयरमा लगानी गर्नुहुँदैन र यसले भएको पनि सम्पत्ति सिध्याउँछ भनेर सतर्क भइसकेका छन् । हिजो नागरिकलाई सञ्चारमाध्यम तथा सरकारले पनि शेयरमा लगानी नगरौँ भनेर सचेतना दिएको थिएन । त्यसकै फाइदा उठाएर शेयर दलालीहरुले शेयरमा लगानी गर्दा रातमा दुई गुना र दिनमा चार गुना नाफा हुने भनेर नागरिकलाई देखाइपछि अहिले नागरिकको त्यहीँ शेयरका कारण घरबास पनि सकियो र उठीबास हुन पुग्यो । एकातिर शेयर लगानीकर्ता त डुबे, तर वित्तिय संस्थाहरुमा डिपोजिट राख्ने सिधासाधी नागरिकहरुको रकम पनि डुब्ने अवस्थामा पुगेको छ ।

अब देशमा ठुलो आर्थिक तरलता आउने छ । अहिले नागरिकहरुले वित्तिय संस्थामा राखेको आफ्नो रकम सुरक्षित छैन, यो सबै रकम केही त डुबिसकेका छ भने केही डुब्ने अवस्थामा छ । वित्तिय संस्थाका चेयरम्यान, सञ्चालक तथा अध्यक्षहरुले घुस खाएर शेयर, घरजग्गा र गाडीमा कर्जा प्रवाह गर्दा वा लगानी गर्दा आज वित्तिय सँस्थाका साथसाथै सिधासाधी नागरिक पनि डुब्ने अवस्थामा पुगेका छन् । सरकारले हिजो वित्तिय संस्थाहरुलाई च्याउ उम्रिएको जसरी दर्ता गर्न दियो, अहिले एउटै घरमा बैंक, फाइनान्स तथा वित्तिय संस्थाका सात वटासम्म बोर्ड झुण्डिएको देखिन्छ । छिटो नाफा कमाउनका लागि वित्तिय संस्थाहरुले अन्धाधुन्ध रुपमा लगानी गर्दा आज नागरिकको रकम वालुवामा पानी भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १५:१४