महाकाली नमुना माध्यमिक विद्यालयका १८ जना अपाङ्गता भएका बालबालिकाको विशेष शिक्षाका लागि छात्रवास भवन निर्माण गरिएको छ । बालबालिकाको आवासका लागि दुई तल्ले (१६ कोठे) भवन बनेको हो ।
ब्याक्टु लाइफ जर्मनीको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मुगुको प्राविधिक सहयोग र महाकाली नमुना माविको समन्वयमा उक्त भवन बनाइएको हो ।
फरक क्षमता भएका अपाङ्गता भएका (कानले नसुन्ने र बोल्न नसक्ने) बालबालिकालाई बस्न समस्या हुँदै आएको थियो । अब उनीहरुलाई बस्न, खान, सुत्न र बिशेष अध्ययनमा सहज हुने भएको छ ।
३० जना अट्ने क्षमता भएको यस भवनमा चार वटा शौचालय, भान्सा, डाइनिङ हल, मिटीङ हल सहितको व्यवस्था छ । छात्र र छात्राको लागि छुटाछुट्टै आवास र सुत्ने कोठा बनाइएको छ । दुई जना शिक्षकका लागि छुट्टै कोठाको व्यवस्था छ ।
फरक क्षमता भएका बालबालिकाका लागि यस विद्यालयमा २४ वटा कोटा छ । हाल नौं जना छात्र र नौं जना छात्रा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक खडकबहादुर रोकायाले जानकारी दिए । भवन निर्माणमा एक करोड ३५ लाख ८९ हजार रुपैयाँ खर्च भएको हेरेन्डेक नेपाल मुगुले जनाएको छ ।
सत्यपाटी । मुगु ।