सूचनाको शक्ति - The Power Of Information

        

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरूपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये एक हजार ९८९ पुरुष र एक हजार ९८९ महिला छन् ।

नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि नागरिकता बनाउने बढेका हुन् । पहिला–पहिला हप्ताको दुई दिन जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली आएर नागरिकता वितरण गर्ने गरिन्थ्यो ।

अहिले दैनिकरूपमा कार्यालयबाटै सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम तानसेन जानुपर्ने झन्झट हटेको छ । दैनिकजसो कम्तीमा २० देखि ५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचन, सङ्घ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचय पत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ,’ कार्यालय प्रमुख अर्यालले भने ।

उनका अनुसार कार्यालयबाट आव २०७८–०७९ मा दुई जनालाई अंगीकृत नागरिकता वितरण गरिएको छ भने नागरिकता प्रतिलिपि एक हजार ९९६ लाई प्रदान गरिएको छ । ८७५ पुरुष र एक हजार १२१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

नाबालक परिचय पत्र २५, राहदानी द्रुत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित एक, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

पहिला सदरमुकाम तानसेन जाने समस्याले उमेर पुगे पनि अति आवश्यक परिस्थिति नहुँदासम्म नागरिकता बनाउने कार्यमा नागरिकले चासो दिइएको पाइँदैनथ्यो । तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयले सेवा दिन थालेपछि पूर्वी पाल्पाका नागरिकलाई ठूलो राहत मिलेको छ ।

सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्दा निकै सास्ती खेप्नुपर्ने तथा भनेको समयमा काम नबन्दा बास नै बस्नुपर्ने अवस्था खेपेका नागरिकले गाउँबाटै सेवा पाउँदा राहतको अनुभूति भएको सेवाग्राही ओमप्रकाश बस्याल बताउछन् ।

‘बेला बेलामा कार्यालय प्रमुख विहीन, बाहिरका कार्यालय प्रमुख हुदा काम विशेष र विदाका समय अन्यत्र जाने, घर बिदाजस्ता समस्याले कार्यालयमा प्रमुख नहुँदा तानसेन नै जानुपर्थ्यो, अहिले स्थानीय कार्यालय प्रमुख भएकाले नियमितरुपमा कार्यालयमा आउने बित्तिकै सेवा पाइएको छ,’ उनले भने ।

कार्यालयमा आएको केही समयमा नै छिटो र प्रभावकारी सेवा पाउँदा चुरामणि ठाडा दङ्ग छन् । यसभन्दा अघि नागरिकता बनाउन, विभिन्न कामका लागि तानसेन गएर सेवा लिन चार–पाँच घण्टाको बाटो गाडीमा यात्रा, बास बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नुपरेको स्मरण गर्दै अहिले सबै सेवा सुविधा गाउँमै पाएको उनी बताउँछन् ।

पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेन रामपुरका लागि गुड्थे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो ।

सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई थिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउछन् ।

नागरिकता बनाउन सदरमुकाम आउन जानको झन्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगे लगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १३:०१