सूचनाको शक्ति - The Power Of Information

        

नेकपा एसका सुदूरपश्चिम प्रदेश अध्यक्षद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टीको सातौँ स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो । शाहीले आजबाट कुनै दलसँग आबद्ध नरहेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव फुटबाट पनि शक्ति प्राप्त हुन्छ,’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनको पछि लागे ।’

गत वर्ष पुनःगठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि आफू पनि त्यसको पछाडि लागेको उनले बताए । पार्टी विभाजनले काङ्ग्रेस लगायत पश्चिमा पुँजीवादीहरूलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ ।

‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरूको नै फाइदा पुर्यायो,’ शाहीले भने, ‘त्यसबापतको पछुतो र आत्मग्लानी भएको छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १०:०७