नेपालबाट काम वा रोजगारी गर्नका लागि दिनहुँ हजारौं नेपाली विदेश पलायन भइरहेका छन् । रोजगारीका लागि मलेसिया, दुवई, कतार लगायतका तेस्रो मुलुक जाने नेपाली नागरिकसँग म्यानपावर कम्पनीहरुले एक जना बराबर साढे तीन लाखदेखि चार लाख रुपैयाँसम्म असुलिइरहेका छन् । म्यानपावर कम्पनीहरु पैसा लिन्छन्, तर भौचर दिँदैनन् । पैसा बुझाएपछि भौचर पाउनुपर्ने नागरिकको अधिकार हो, तर भौचर दिएमा आफू तल परिन्छ वा कानूनको दायरामा परिन्छ भनेर भौचर दिँदैनन् । मलेसिया, दुवई, कतार जाने आर्थिक कमजोरी, अशिक्षित, गाउँका गरिब नागरिक हुन् ।
तर यिनीहरु सिधासाधी नागरिकलाई यस्ता कम्पनीहरुले लुटिरहँदा सरकार मौन छ । नेपाल सरकारले केही वर्षअघि मलेसिया जाने नागरिकका लागि ‘फ्रि टिकट, फ्रि भिसा’ भनेर निर्णय गरेको थियो । साथै म्यानपावर कम्पनीले मलेसियामा काम गर्न जाने नागरिकसँग १० हजारभन्दा बढी रकम लिन नपाइने भनेर पनि भनेको थियो । तर अहिले यी कम्पनीहरुले एकै जनासँग मलेसिया गएबापत चार लाख लिँदा सरकार किन चुप लागेर बसिरहेको छ । म्यानपावर कम्पनीले हामीलाई यतिधेरै पैसा लिएर ठगेको भन्दै हिँडेका नागरिकहरु चोकचोक र चिया पसलमा यतिकै भेटिन्छन् ।
तर म्यानपावरको विरुद्धमा वा ठगहरुको यस्तो धन्दाका बारेमा श्रम मन्त्रालय वा विभागमा उजुरी गर्न जाँदा त्यहाँ उजुरी नगर्ने भन्ने कुरा पनि पीडितहरुको नै मुखबाट सुनिन्छ । साथै उजुरी दर्ता गरेपछि कारबाही पनि नगरिएको कुरा कतिको मुखबाट सुनिन्छ । श्रममन्त्री शेरबहादुर कुवँरले नौटंकी गर्न कति जानेका हुन् ? म्यानपावर व्यवसायीसँग श्रममन्त्री र विभागका महानिर्देशकले पैसा खाएर मिडिया र नागरिकको अगाडि श्रमिकलाई ठग्ने म्यानपावर कम्पनीलाई कारबाही गर्छौं भन्छन् । तर त्यस्ता ठग कम्पनीहरुको दर्ता खारेज र सञ्चालकलाई कारबाही गर्दैनन् ।
बरु मलेसिया जान लिएको पैसा हामीले माथिदेखि तलसम्म भागबण्ड गर्नुपर्छ भनेर म्यानपावर कम्पनीहरु बताउँछन् । म्यानपावरले पहिला पैसा लिने समयमा एक महिना मलेसिया पठाउँछु भनेर लिन्छ, तर पैसा र पासपोर्ट लिएको ३ देखि ६ महिनासम्म पनि विदेश पठाउँदैन । गाउँका आर्थिक कमजोर भएका नागरिकहरु आफ्नो खेतबारी बेचेर, धितो राखेर वा मिटरबजमा पैसा लिएर मलेसिया जान म्यानपावरमा पैसा बुझाउँछन्, तर यस्ता नागरिकलाई म्यानपावर कम्पनीहरुले झन् कंगाल बनाउँछन् । तर सरकारलाई भने यस्ता विषयमा कुनै चासो र चिन्ता हुँदैन ।
नेपाली नागरिकसँग सरकारलाई कर प्राप्त भइरहेको छ भने उता नेताहरुलाई भोट पाउने व्यवस्था मिलिरहेको छ । नेपालीहरु जन्मिएको मितिले १६ वर्षपुगेपछि नागरिकता र पासर्पोट बनाउँछन् कोही पैसा हुने अमेरिका, अस्ट्रेलिया पुग्छन् भने कोही आर्थिक कमजोरी भएकाले बाध्यताका साथ मलेसियातिर लाग्छन् । एक १ करोडभन्दा बढी नेपाली नागरिक कामका लागि बाहिरी मुलुकमा रहेका छन् । यी कम्पनीहरुले पहिला पैसा लिँदा काम राम्रो भएको र तलब पनि बढी हुने बताए पनि त्यहाँ गएपछि काम जटिल र तलब पनि कम हुन्छ । म्यानपावर कम्पनी र सरकार मिलेर नेपाली नागरिकलाई खसीबाख्रा झैं बेचिरहेका छन् ।
म्यानपावर कम्पनीहरुले नागरिक महंगो मूल्यमा बिक्री गरेर आफू कमाइरहेको छ भने सरकारलाई नागरिक बेचेर रेमिट्यान्स भित्र्याइरहेको छ । नेपाली नागरिक जन्मिएदेखि मर्ने बेलासम्म कर तिर्छन् । तर राष्ट्र र सरकारले नै नागरिकमाथि विभेद गर्छ । ती देशहरुमा घामपानी, दिनरात नभनी उनीहरुले काम गरेर आफ्नो मुलुकमा पैसा पठाउँछन्, तर यहाँ त्यहीँ पैसा सरकारले सरकारी कर्मचारी र नेताहरुलाई तलबभत्ता र गाडीमा खर्च गर्ने गर्छ । नेपाल पछिल्लो समय हरेक देशको अगाडि नेपाली नागरिक बेच्ने मुलुकका रुपमा परिचित भइरहेको छ । अहिले घरैपिच्छे जस्तो युवाहरु सबै विदेश गएका छन् ।
गाउँदेखि सहरसम्म बच्चा र बुढो नागरिकमात्र भेटिन्छन् । अहिले त आफ्नै आमाबुबा मरेमा पनि शव जलाउनका लागि छोराछोरी यता हुँदैनन् । विदेश पठाउने नाममा म्यानपावर कम्पनीले नेपालमै पैसा र पासपोर्ट लिएर ठगीरहेका छन् । तर तिनीहरुलाई कारबाही गर्न र न्याय दिन त श्रममन्त्रीले सकेका छैनन् भने विदेशमा अन्यायमा परेर मरेका नागरिकको शव त झन् कसरी नै ल्याउन सक्छन् । विदेशमा एउटा नेपाली नागरिकको मृत्यु भएर शव नेपाल ल्याउने एउटा व्यक्तिले भएभरका सञ्चारकर्मीलाई विमानस्थलमा बोलाएर सरकारले गर्न नसकेको काम मैले गरे भनेर प्रचारप्रसार गर्छ ।
योभन्दा लाजमर्दो अरु के हुन सक्छ र श्रममन्त्री ज्यू । अहिले पनि कति नेपालीहरु काम गर्दा नै विदेशमा मरेका हुनाले नेपालमा उनीहरुको लास आउन पाएको छैन भने कति नेपालीहरु काम गर्ने सिलसिलामा गल्ती नै नगरी विदेशी जेलमा बसिरहेका छन्, उनीहरुलाई सरकारले छुटयाउन सकेको छैन । यदि नेपाल सरकारले नेपालीलाई नेपालमै रोजगारीको व्यवस्था मिलाएको भए आज नेपालीहरु विदेशी जेलमै मर्नुपर्दैन थियो । अहिलेसम्म पनि विदेशमा मरेका नेपालीको शव ल्याउन र जेलमा बसेका नागरिकहरु ल्याउन राष्ट्र, प्रधानमन्त्री र श्रममन्त्रीले केही पहल गरेका छैनन् ।
नेपालीहरु बाहिरी मुलुकहरुमा गएर काम गर्दा अरु मुलुकहरु धनी हुन्छ भने हामी काम गर्ने नेपाली अदक्ष हुन्छौँ । नेपालको खेतयोग्य जमिनहरु खण्डीकरण वा प्लानिङ गरेर बाटो र घर बनाएर सक्किसकेको छ । अहिले नेपालमा जनसंख्या वृद्धिदर उच्च छ, तर कमाइखानका लागि जग्गा भने एउटा छैन । नेपालीहरु विदेश गएर आफन्तजनलाई पैसा पठाउँछन् र त्यहीँ पैसाबाट यहाँ घरपरिवारले सबै खाद्यान्न बाहिरी मुलुकबाट आएको किनेर खान्छन् । यसरी विदेशबाट कमाएर पठाएको मुद्रा फेरि पनि विदेशतिर नै फर्कन्छ । नेपालको जनशक्ति पनि अब बिस्तारै बाहिरी मुलुकले लग्छ भने आर्थिक वा नेपाली मुद्रा पनि सबै लग्ने छन् ।
नेपालीसँग नेपालमै व्यापार व्यवसाय गर्न पैसा छैन । बैंक, वित्तिय संस्था र फाइनान्सले कर्जा प्रवाह गर्दैनन् । यहाँ कर्जा लिएर व्यवसाय गर्ने नागरिकलाई राजनीतिक दलले चन्दा मागेर धुरुक्क रुवाउँछन् । मरुभूमि भएको देशमा आज नेपालीहरु काम गर्न गएर त्यहाँ धेरै विकास भयो, तर यहाँको सबै जग्गा जमिनहरु बाझै रहे । नेपालीले अरुको मुलुक विकास गरे, आफ्नो देश बिगारे । म्यानपावर कम्पनीले नागरिकसँग महंगो पैसा लिएर ठग्दा श्रममन्त्री चुपचाप छन् । उनी नागरिकसँग बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाही गर्नुको साटो उनीहरुसँग पैसा खाएर मौन बसेका छन् ।
श्रम विभाग, श्रम मन्त्रालय र म्यानपावरको मिलोमत्तोमा मलेसिया जाने नेपालीहरु ठगीरहेका छन् । अहिलेका श्रममन्त्री कुवँर चुनाव खर्च उठाउनका लागि म्यानपावर व्यवसायीसँग मिलेका छन् । आफूहरुले श्रममन्त्रीलाई आर्थिक रकम दिने गरेको बताउँदै अनुगमन नगर्ने म्यानपावर कम्पनीहरु बताउँछन् । श्रम विभागका महानिर्देशक र श्रममन्त्रीलाई पैसा नदिएमा अनुगमन गर्ने र आफ्नो व्यवसाय धरासायी हुने पनि म्यानपावर कम्पनीहरु बताउँछन् । म्यानपावरको ठगी धन्दाबारे अनुगमन गरेर नियन्त्रण गर्नुको साटोमा मन्त्री र महानिर्दैशक नै उनीहरुसँग मिलेपछि नागरिकले कसरी न्याय पाउँछन् ?
मन्त्री र महानिर्देशक पनि नागरिक ठग्ने म्यानपावर कम्पनीहरुको कार्यक्रममा गएर फूलमाला लगाइ अतिथि बन्ने गर्छन् । अहिले राजनीतिक पार्टीहरुले जति ठुलाठुला कुरा गरे पनि नागरिकको लागि केही काम नगर्ने, नागरिकले नै तिरेको करबाट तलबभत्ता खाने र विदेशीसँग महंगो ब्याजमा पैसा लिने मात्र गर्छन् । सरकारी कर्मचारीलाई सरकारले जति तलब बढाए पनि घुस खान नछोड्ने, काम नगर्ने तर आन्दोलन भने धुमधामसँग गर्ने गर्छन् । सरकारी कर्मचारीले गर्दा आज देश र नागरिक डुब्यो । आज उनीहरुको अरु केही काममा योगदान नभए पनि नागरिक र राष्ट्र डुबाउनुमा महत्वपूर्ण योगदान छ ।
नेपाल अहिले विदेशी ऋणमा चुलुम्म डुबिसकेको छ, नेता र सरकारी कर्मचारीले कमाएको कालो धन सबै विदेशी बैंकहरुमा छ, नेपालको जमिन चीन र भारत मिलेर खाइसकेको छ । अहिले नागरिकहरु कुन देशले नेपालमा हस्तक्षेप गर्छ भनेर त्रासमा छन् । यता नेपालका नेताहरु आफ्नो फाइदाका निम्ति छिमेकी मुलुकसँग जस्तो पनि सम्झौता गरेर राष्ट्र र नागरिकलाई दुःख दिन्छन् । सरकारी कर्मचारीले जागिर खाएको पाँच वर्षमा जग्गा किनेर घर बनाउँछन् । जहिले पनि नागरिकको लागि काम गरेको बताउने नेताहरु आलिसान महल बनाएर करोडौंका गाडीमा चढ्छन्, तर नागरिकका लागि केही गर्दैनन् ।
केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनालहरुले राजनीतिको नाममा भ्रष्टाचार गरेर कमाएको देख्दा आज हामी पनि कमाउनुपर्छ भनेर काठमाडौँको मेयर बालेन्द्र साह र सञ्चारकर्मी रवि लामिछाने पनि राजनीतिमा आए । माथिका नेताहरुले नागरिक र राष्ट्रको नाम बचेर पदमा पुगे र आज यत्रो कमाए । आज बालेन्द्र साह त झन् नागरिक र राष्ट्रको नै नाम बेचेर पदमा पुगेका छन् । उनले त झन् कति कमाउने होलान्् ? पहिले पैसा कमाउन नेपाल छोडेर अमेरिका पुगेका रवि लामिछाने अमेरिकामा भन्दा नेपालमा बढी कमाए हुने देखेर फेरि नेपाल भित्रिए ।
उनले नेपालमा आएर केही समय पत्रकारिता पेसा अपनाए तर यो पेसामा भन्दा बढी राजनीतिकै आम्दानीमा देखेपछि उनी पनि राजनीतिमै लागे । आज उनीे पैसा कमाउन राष्ट्र र नागरिकको नाम बेचेर नेता भएर हिँडिरहेका छन् । मधेशी दल र कमल थापन पनि दाउ हेरेर बसिरहेका छन् । अहिले नागरिकलाई उनीहरुका बारेमा केही भन्न लगाएमा भ्रष्टाचारी र फटाहा नेताको संज्ञा दिन्छन् । यी नेताहरुले जहिले पनि आफन्तलाई जागिर लगाउने गर्छन्, अनि सिधासाधी नागरिकहरु मलेसिया नगए कहाँ जानु ? अब नेपालका नेताहरुबाट नागरिक सक्षम हुनुपर्छ र यिनीको खोक्रो भाषणामा विश्वास्त हुनुहुँदैन ।
विदेशी ऋण एक नेपालीको टाउकोमा ७१ हजार पुगेको छ, महंगी बढेर बाँच्न नसक्ने अवस्थामा पुगेको छ । तर यसलाई नियन्त्रण गर्न यी नेताहरुले केही पहल गरिरहेका छैनन् । के यी नेताहरुले आफूसँग भएको सम्पूर्ण सम्पत्ति राष्ट्र वा सरकारको नाममा पास गर्न सक्छन् । पछिल्लो समय नेपालमा पैसा कमाउन सबैभन्दा सजिलो पेसा भनेको नै राजनीति हो । राजनीतिमा कुनै लगानी गर्नुपर्दैन, मेहेनत पनि गर्नुपर्दैन र हावा भाषण गरेमा नेता बनेर सजिलै पैसा कमाउन सकिन्छ । अहिले नेपालको राजनीति सेवा नभएर व्यापार, व्यवसाय र पेशा बनिरहेको छ ।
त्यसैले पनि राजनीतिमा लाग्नेहरुको संख्या बढिरहेको छ । यस्ता नेताहरुले अझै पनि नेपाली नागरिकलाई नेपालमा नै रोजगारी दिन्छन् भनेर नागरिक कसरी पत्याउँछन् । बरु यिनीहरुले नेपाल नै बेचेर खाने छन् । नागरिकले तिरेको कर सरकारी कर्मचारी र नेताहरुलाई तलबभत्ता खान पुग्दैन अब नेपाल के को विकास हुन्छ ? बरु यसले बरु बिनासबाहेक अरु केही निम्त्याउँदैन । राजनीतिक अस्थीरताकै कारण नेपालमा आर्थिक तरलता बढेर अहिले पनि आर्थिक संकट देखिरहेको छ । अब नेपाल श्रींलकाको नै बाटोमा हिँड्नेछ ।
रुषा थापा ।