वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभावका कारण तरलता समस्या कायमै रहँदा त्यसको असर सहकारी क्षेत्रमा पर्न थालेको छ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै करिब २ दर्जन सहकारी संकटमा परेपछि समस्या उजागर भएको हो ।
विशेषगरी ठूला भनिएका र नाम चलेका सहकारीले सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसकेपछि सहकारीप्रतिको संशय बढ्दै गएको छ ।
सिभिल, गौतमश्री, कान्तिपुर, लालीगुराँस, देउराली, बराहलगायत सहकारी समस्या परेसँगै सर्वसाधारणको करोडौं रकम जोखिम परेको छ ।
बजारमा नाम चलेका सहकारीहरू धमाधम संकटमा परेको खबर आएपछि सर्वसाधारणले एकैपटक निक्षेप फिर्ता लिँदा अन्य सहकारीसमेत धर्मराउन थालेका छन् । अधिकांश सहकारीमा १० प्रतिशतभन्दा कम तरलता रहेका पनि समस्या भएको छ ।
विभिन्न सञ्चारमाध्यममा विज्ञापन बोर्डले सहकारीलाई लक्षित गर्दै ‘बचत गर्दा ध्यान दिऔं’ भन्ने सूचना जारी गर्नु तथा राष्ट्रिय सहकारी महासंघले निक्षेपकर्तालाई कुल निक्षेपको ५ प्रतिशत मात्र साप्ताहिक रूपमा निक्षेप फिर्ता गर्न सदस्य संस्थालाई निर्देशन दिएको खबरले आफूहरूलाई थप आशंकित बनाएको सर्वसाधारणले बताएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।