सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा चार करोड मानिस अति गरीब !


काठमाडौं । पावर र पैसामा संसारको सबैभन्दा शक्तिशाली मानिने अमेरिकाले संसारभर राज गरेकै छ । हाल अमेरिकाको अर्थतन्त्र विश्वकै सबैभन्दा ठूलो अर्थात् १९० खर्ब अमेरिकी डलरको छ । जबकि दास्रो स्थानमा रहेको चीनको अर्थतन्त्र करीव ११० खर्ब अमेरिकी डलर बराबर मात्र छ । अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । विश्वको जुनसुकै कुनामा अमेरिकाले चाहेको समयमा आक्रमण गर्ने सामथ्र्य छ ।
विश्वका धेरै स्थानमा अमेरिकी सेनाको शिविर रहेका छन् । यही कारण विश्वका अन्य राष्ट्र पनि अमेरिकाजस्तै बन्ने होडबाजीमा लागिपरेका छन् । तर वास्तविकता यति मात्र होइन । जो कोहीलाई पत्याउनै गाह्रो पर्ने अमेरिकाकाका वास्तविकता पनि छन् । त्यहाँको गरिबीका विषयमा धेरै चर्चा पाइदैन । तर अमेरिकामा गरिबीको समस्या निकै चुनौतीपूर्ण बन्दै गएको छ । प्रत्येक वर्ष गरिबको संख्या बढ्दै गएको छ ।
तथ्यांकअनुसार अहिले पनि अमेरिकामा करीव ४ करोड ५० मानिस अति गरिबीको रेखामुनि रहेका छन् । उनीहरुको दैनिक आम्दानी २ डलरभन्दा पनि कम छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले सन् २०१६ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार अमेरिकामा धनी र गरिबबीचको असमानता तीव्र रुपमा वृद्धि हुँदै गएको छ । गरिब लगातार गरिब बन्दै जान थालेका छन् भने धनी झन् झन् धनी बन्दै गएका छन् ।

१ प्रतिशत मानिससँग ३८ प्रतिशत सम्पत्ति
सन् २०१६ मा फेडले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धनी १ प्रतिशत मानिससँग अमेरिकाको कूल सम्पत्तिको करीव ३८ प्रतिशत सम्पत्ति रहेको छ । सन् २०१२ मा एक प्रतिशत धनी मानिससँग २२ प्रतिशत मात्र सम्पत्ति रहेको थियो । अतः अमेरिकमा गरिब मानिसको सम्पत्तिमा धनीको रजाई चल्दै गएको छ ।

९० प्रतिशत मानिसको २३ प्रतिशत मात्र सम्पत्ति
आम्दानीका हिसाबले कम आम्दानी भएका ९० प्रतिशत मानिससँग कूल सम्पत्तिको २३ प्रतिशत मात्र सम्पत्ति रहेको छ । तर आम्दानीको हिसाब गर्ने हो भने देशको कूल आम्दानीको करीव ५० प्रतिशत वा आधा आम्दानी कम सम्पत्ति हुने ९० प्रतिशत मानिसले नै गर्दै आएका छन् । सन् १९९२ मा यी मानिसले ६० प्रतिशत आम्दानी गर्न सक्दथे । सन् १९८० मा ज्ञानमा आधरित अर्थतन्त्रमा राष्ट्रले जोड दिन थालेपछि केन्द्रीय बैंकले आम्दानी तथा सम्पत्ति असमानताको तथ्यांक संकलन गर्न थालेको हो ।

आम्दानी असमानता २० गुणा
विश्वको सबैभन्दा ठूलो वित्तीय तथा व्यापारिक केन्द्र न्यूयार्कमा मात्र आम्दानी असमानताको अवस्था अपत्यारिलो लाग्न सक्छ । धनीले गर्ने आम्दानीको २० भागको एक भाग पनि गरिबले गर्न सक्ने अवस्था छैन । धनी मानिसको वार्षिक औषत आय २ लाख ८२ हजार डलर भन्दा बढी छ । गरिबको औषत आम्दानी २३ हजार डलर पनि छैन । आम्दानी असमानताका कुरा गर्दा अमेरिकाको स्थिति इरानभन्दा पनि नाजुक छ ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०७:३९