अहिले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा डेङ्गीको प्रकोप बढिरहेको छ । मैले बंगलादेशमा जनस्वास्थ्य स्नातकोत्तर पढ्दा डेङ्गीको भयावह स्वरूप अत्यन्तै नजिकबाट महसुस हरेको थिएँ । फ्ल्याटमा बस्दा डेङ्गीको डरले हामी रातिमात्र हैन, दिउँसो पनि झुल भित्र बसेर पढ्ने/सुत्ने गर्दथ्यौं ।
डेङ्गीको कारक यो लामखुट्टे बाल्टिन, जग, फूलदानी आदि सफा ठाउँमा बस्ने तथा प्रायः दिनमा टोक्ने प्रकृतिको भएकोले हामीले त्यस्ता पानी जम्ने ठाउँ सुख्खा राख्थ्यौं । कतै बाहिर जाँदा ओडोमस लगायत लामखुट्टे भगाउने क्रीम शरीरको खुला हुने ठाउँमा लगाउने गर्थ्यौं । प्रचण्ड गर्मीमा पनि लामबाहुले कपडा लगाउने गर्थ्यौं ।
मेरो बंगाली साथीलाई अचानक उच्च ज्वरो आउने, जोर्नी/मांशपेशी र ढाड अत्यन्तै देख्ने, आँखाको गेडी दुख्ने, टाउको फुट्लाजस्तो दुख्ने, वाकवाकी र वान्ता हुने तथा शरीरमा राता बिमिरा आउने लक्षण देखिए । हड्डी तथा जोर्नीमा अत्यधिक दुखाइ हुने भएकोले डेङ्गीलाई ‘ब्रेकबोन फिभर’ पनि भनिन्छ । सुरुमा उसले घरमै बसेर लक्षण अनुसारको औषधि सेवन गर्यो ।
रगत परीक्षण गर्दा डेङ्गी एनएस–१ पोजिटिभ देखियो । WBC घटेर १२०० पुग्यो, प्लेट्लेट्स ५० हजारमा झर्यो । त्यसपछि उ तत्काल अस्पतालमा भर्ना भयो । पिसिआर टेस्ट गर्दा डेङ्गी भाइरस पोजिटिभ देखियो । अस्पताल पुगेपछि एकदम पेट दुख्ने, लगातार वान्ता हुने, मुखबाट रगत आउने, एकदम छटपटी हुने, शिथिल हुने, कलेजो सुन्निने तथा प्लेट्लेट्स घट्दै गयो ।
उसलाई रगत चढाउने, सलाइन दिने तथा अन्य उपचार दिने क्रम भइरहेको थियो । दर्जनौं पिन्ट रगत दिएपछि उसको प्लेट्लेट्स १० हजारबाट बढ्न थाल्यो । त्यसपछि हामी ढुक्क हुन थाल्यौं । अस्पताल भर्ना भएको एकहप्ता निकै तनावमा बित्यो । प्लेट्लेट्स बढ्न थालेपछि उसलाई कालोचिया, दालको रस हुँदै मुखबाट खाना दिन सुरु भयो । अस्पतालको खाना उसले पटक्कै खान सकेन । हामीले आफै पकाएर उसलाई दिनको ३ पटक खाना पुर्याउने गर्यौं ।
उपचार तथा आहारको सन्तुलनले उसलाई निको भयो । बंगलादेशमा डेङ्गीको कारण बर्षेनी धेरैको मृत्यु हुन्छ । त्यसो त भारत र नेपालको तराइ पनि डेङ्गीको जोखिममा पर्दछन् । बिगत केहिबर्षदेखि डेङ्गी तराइमा मात्र नभएर पहाड तथा सहरमा पनि उकालो लागिरहेको छ । डेङ्गीको समयमै उपचार नगरेमा ग्रन्थी प्रणाली तथा रक्तनली नष्ट हुन सक्छन् । छालाभित्र रगत जम्ने, आन्तरिक रक्तश्राव हुने तथा रक्तसंचार प्रणाली फेलर हुनसक्छ ।
साधारण डेङ्गीभन्दा रक्तश्रावजन्य डेङ्गी निकै खतरनाक हुन्छ । यसबाट डेङ्गी सक सिन्ड्रोम हुँदै मृत्यु पनि हुन सक्छ । डेङ्गीको ठोस उपचार छैन । ज्वरो आउने, टाउको तथा हड्डी दुखेमा ब्रोफिन/निमुसेलाइड/एस्पिरिन लगायतका औषधि खानुहुँदैन । पारासिटामोल सुरक्षित हुन्छ । मल्टिभिटामिन खान सकिन्छ । प्लेट्लेट्स बढाउन हाल मेवाको पातबाट बनेका चक्की बजारमा उपलब्ध छन् । ती चक्की चिकित्सकको सिफारिस र निगरानीमा मात्र सेवन गर्न सकिन्छ ।
डेङ्गीको घरेलु उपचार
- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
- शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ ।
- प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने ।
- मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने ।
- प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने ।
- बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने ।
- अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ ।
- स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ ।
- नीमको पातले पनि प्लेटलेट बढाउँछ ।
- हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन–के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ ।
- मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ ।
- तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन् ।
- जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ ।
- सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ ।
- खीर रुचिकर तथा फाइदाजनक हुन्छ ।
- अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ ।
- चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने ।
- यी सबै एकैपटक खानुपर्छ भन्ने होइन । यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने। डेङ्गीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ ।
- यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ ।
कुन अवस्थामा तुरुन्त अस्पताल जाने ?
- नाक, मुखबाट वा बान्ता गर्दा रगत आएमा ।
- ज्वरो नियन्त्रण नभएमा ।
- सेतो रक्तकोष तथा प्लेट्लेट्स निकै घटेमा ।
- बेहोस होलाजस्तो भएमा ।
डेङ्गीबाट बच्ने उपायहरू
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
डा. रबिन्द्र पाण्डे ।