सूचनाको शक्ति - The Power Of Information

        

देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द !

फाइल तस्वीर

नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौं १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ । सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो ।

कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ । यही ९ गते विरोध प्रदर्शन खुला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने, १० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ ।

परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले भने, ‘सरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको हो,’ उनले थपे, ‘आफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्नेछौँ ।’ यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन् ।

विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने लगायत उनीहरुका माग छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १४:२२