सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रमा रासनकाण्ड

हवल्दारलाई बिचल्लीमा पार्ने एसपीको जिम्मेवारी खोसियो

वास्तविक सूचना दिएकै कारण हवल्दार शाहुलाई जन्मकैद माग गर्दै जेल हालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ ।

आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका एसपी बिष्टको जिम्मेवारी खोसिएको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले बिष्टको जिम्मेवारी खोसिएको पुष्टि गरे ।

‘गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय तानेर छानबिन सुरु गरिएको छ,’ डिआइजी भट्टराईले भने, ‘अहिले नै त्यसबारे धेरै भन्न सकिदैन ।’ ४४ नम्बर गणमा २५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ ।

रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले एसपी बिष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो । यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टीकरण सोधेको थियो ।

जेलमा हवल्दार

२८ जेठमा धनगढीबाट प्रकाशन हुने एक सञ्चारमाध्यममा ‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख एसपी त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो ।

यद्यपि समाचारमा स्रोत भने खुलाएको थिएन । समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ ।’

खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्याउनेको खोजी गर्न एसपी बिष्ट स्वयम् आफैं खटिए । सो क्रममा हरेक सिपाहीको मोबाइल परीक्षण गर्न थालियो । वरिष्ठ हवल्दार नरेशसिंह शाहुले मोबाइलमा फेसबुक र म्यासेन्जर अनइन्स्टल गरेको पाइयो ।

रासनमा हुने बेथितिबारे समाचार आएसँगै शाहुले फेसबुक र म्यासेन्जर अनइन्स्टल गर्नुभएको थियो । मिडियासम्म विवरण पुर्याउनेको खोजी गर्दा शाहुमाथि शंका बढेपछि उनको मोबाइलमा म्यासेन्जर इन्स्टल गरियो र पत्रकार सन्तोषसिंह ठगुन्नासँग भएको कुराकानी फेला पर्यो ।

म्यासेन्जरमा सशस्त्र प्रहरी भित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा शाहुले रासनका नाममा हुने बेथितिबारे मात्रै सूचना दिएका थिए । त्यसपछि नम्बर ४४ गणले पत्रकार ठगुन्नालाई कार्यालयमा बोलायो । पत्रकार ठगुन्नाले स्रोतको सुरक्षा गर्नुको सट्टा सूचना दिने शाहु नै हुन् भनेर पुष्टि गर्दा शाहुमाथि झनै संकट पर्यो ।

मिडियासम्म खबर पुगाएको भन्दै जेठ महिनाको अन्तिममा शाहुलाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा लगियो । केही दिनपछि हेडक्वार्टर पठाइयो । शाहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो । शाहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ ।

तर शाहुले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए । सुरक्षासँग सम्बन्धित सूचना तथा खबर राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा जन्मकैदको सजाय हुने व्यवस्था भएकोले सोहीअनुसार माग दाबीसहित सशस्त्र प्रहरीले मुद्दा दर्ता गरेको छ ।

मुचुल्का र मुद्दा फाइलमा भने शाहुले मिडियासम्म पुर्याएको हाजिरी विवरण वास्तविक भएको उल्लेख छ । वास्तविक सूचना दिएकै कारण हवल्दार शाहुलाई जन्मकैद माग गर्दै जेल हालिएको छ । तर सूचनाको हकसम्बन्धी ऐनमा भने सूचना दिएकै आधारमा कैद सजाय हुने व्यवस्था छैन । पर्वत दरबन्दी भई काजमा दार्चुलामा कार्यरत रहेका वरिष्ठ हवल्दार शाहुलाई सशस्त्र प्रहरीमा १९ वर्ष पुगिसकेको छ ।

दार्चुलाको महाकाली नगरपालिका–२ मुल्ला घर भएका उनको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा पनि बसोबास छ । घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । दाइको मृत्युपछि भतिजाहरूको लालनपालनको जिम्मेबारी पनि शाहुमाथि नै थियो । तर पेन्सन खान एक वर्ष बाँकी रहँदा शाहु जेल परेपछि परिवारको बिचल्ली भएको छ ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०९:०४