सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बीमा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ ।

जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा बापत २० लाख रूपैयाँ उपलब्ध गराउने भएको हो ।

ललितपुरमा आयोजित निर्वाचन बिट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम भइसकेको बताए ।

उनका अनुसार निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन भएको कर्मचारी हुनेछन् । पौडेलले मुख्य निर्वाचन अधिृकतमा जिल्लामा न्यायाधीश खटाइने बताए ।

७७ जना जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतमा (न्याय सेवाका रा.प.द्धितिय श्रेणीका कर्मचारी) ८८ जना गरी कुल १६५ जना कर्मचारी परिचालन गरिने उनले जानकारी दिए ।

जनशक्ति नपुगेमा मात्र अन्य निकायबाट खटाइने उनको भनाइ छ । पौडेलले भने, ‘मतदाता संख्या र मतदान केन्द्रको आधारमा कर्मचारी खटाइनेछ ।’ निर्वाचनमा ५७ प्रकारका सामग्रीको प्रयोग गरिने उनले जानकारी दिए ।

‘निर्वाचन आयोगबाट ४२ र जिल्लास्थित कार्यालयबाट १५ प्रकारका सामग्री खरिद हुन्छ,’ उनले भने, ‘सामग्री खरिद टेण्डर आव्हानबाट गरिन्छ । खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।’ यसअघि प्रयोग गर्न बाँकी रहेका सामग्रीसमेत प्रयोग गरिने उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतवार १५:३३