सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु

नेपालगञ्जस्थित आरम्भ पुर्नस्थापना सुधार केन्द्रमा रहेका एक ब्यक्तिको शंकास्पद मृत्यु भएको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी एक हप्ता अगाडी मात्र उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी घर्तीले बताए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:३९