सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–विकास

नेपालगन्ज र कोहलपुरमा पाँच वटा आकाशे पुल

जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रिट लाइटहरु पनि जडान गरिनेछ ।

आकाशे पुल निर्माण गरिने अति व्यस्त हुने धम्बोझी चोक क्षेत्र ।

नेपालगन्ज र कोहलपुरका सडकमा अत्यधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपूर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या देखिएकाले पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ ।

रत्न राजमार्गका चोकहरुमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको र दुर्घटनाको जोखिम समेत बढेका कारण नेपालगन्जमा चार र कोहलपुरमा एउटा गरी पाँच वटा आकाशे पुल निर्माण गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।

उनले यो योजना बाँकेका सङ्घीय सांसद मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि उनकै निर्देशनमा तयार गरिएको बताए । पाँच वटा आकाशे पुलका लागि टेण्डर आह्वान भैसकेको जनाउँदै प्रमुख एसीले टेण्डर प्रक्रिया सकिएलगत्तै निर्माणको काम शुरु गरिने बताए ।

उहाँका अनुसार नेपालगन्जको अति व्यस्त मानिने चोकहरु गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गरिनेछ । सोका लागि १० करोड रुपैयाँको बजेट छुट्टयाइएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

सोही प्रकारले जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रिट लाइटको पनि अभाव देखिएकाले सो सडकमा दुबैतिर मुख फर्काइएका स्ट्रिट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको सडक डिभिजनका प्रमुख एसीले बताए ।

जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रिट लाइटहरु जडान गरिने तथा हाइमास्ट लाइट जडान भएको ठाउँमा सो भन्दा १५० मिटरको दुरीमा जडान गरिनेछ । दुबै योजनाका लागि ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने शर्त राखिएको पनि सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १६:२९