सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वामदेव र बाबुराम माओवादीको शरणमा, चुनाव चिह्न ‘हँसिया हथौडा’

वामदेव र बाबुराम दुबै अहिलेकै अवस्थामा एक्लै निर्वाचनमा सहभागी हुँदा एउटा पनि सिट जित्ने अवस्था छैन । त्यसैले उनीहरुले माओवादीको सहारा खोजेका हुन् ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने काममा भूमिका खेलेका वामदेव पछिल्लो समय एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपामा पनि तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पक्षमा थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले बाबुराम र बामदेवलाई आफ्नो निर्वाचन चिन्ह ‘हँसिया हथौंडा’बाट प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको हो । बाबुरामले ६ वर्षअघि नेपालमा माओवादी विचारधाराको औचित्य समाप्त भएको भन्दै नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेर माओवादी त्यागेका थिए ।

त्यसयता धेरै पार्टीसँग एकता गर्दै अघि बढे पनि सफलता प्राप्त गर्न नसकेपछि उनी अन्तत माओवादीकै शरणमा फर्केका हुन् । पछिल्लो सयम बाबुरामलाई जनता समाजवादी पार्टी नेपालले कारबाही गरेको थियो । लगत्तै उनले नेपाल समाजवादी पार्टी गठन गरेका हुन् । वामदेव गौतमलाई माओवादीसँग धेरै नजिकको सम्बन्ध राख्ने नेताको रुपमा चिनिन्थ्यो ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने काममा भूमिका खेलेका वामदेव पछिल्लो समय एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपामा पनि तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पक्षमा थिए । तर, नेकपा विभाजनपछि नेकपा एकता अभियान भनेर बसेका उनले पछिल्लो समय उक्त अभियानलाई नै पार्टीको रुपमा रुपान्तरण गरेका हुन् ।

वामदेव र बाबुराम दुबै अहिलेकै अवस्थामा एक्लै निर्वाचनमा सहभागी हुँदा एउटा पनि सिट जित्ने अवस्था छैन । त्यसैले उनीहरुले माओवादीको सहारा खोजेका हुन् । वामदेव र बाबुराम माओवादीकै निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी हुने भएपछि उनीहरु पनि वर्तमान सत्ता गठबन्धनमा सामेल हुने निश्चित भएको थियो ।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो पार्टीकै चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं ।’

माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार पनि भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ । तर, वामदेवको हकमा चुनाव चिह्न दिए पनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।

‘वामदेवजी हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्न तयार हुनुहुन्छ । उहाँले तपाईंहरुको पार्टीको चुनाव चिह्नमा लड्छु भनेपछि हामीले चुनाव चिह्न दिने निर्णय गर्यौँ,’ उनले भने, ‘उहाँ (वामदेव)ले बर्दियाबाट नभइ प्यूठानमै चुनाव लड्छु भनेपछि गठबन्धनमा अप्ठ्यारो भयो । यसलाई गठबन्धनमा छलफल गरेर मात्रै टुंग्याउनु पर्नेछ ।’ प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेकाले वामदेवले दाबी गरेपछि समस्या परेको हो ।

यसअघि माओवादी र नेपाल समाजवादी पार्टीबीच निर्वाचनपछि पार्टी एकता गर्ने आधारभूत सहमति भएको छ । तर, पार्टीको नाम के हुने भन्ने विषयमा कुरा मिलेको छैन । बाबुरामले पार्टीको नाम ‘समाजवादी केन्द्र’ राख्नुपर्ने माग गर्दै आएका छन् । तर, नेकपा माओवादी केन्द्रले माओवादी फगत नाम मात्र नभएर आजसम्मको सम्पूर्ण परिवर्तनको मानक रहेको भन्दै माओवादी नाम छोड्न नसकिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १२:४१