सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरको मुख्य दुई वटा चोकमा आकासे पुल निर्माण गरिने

कोहलपुर नगरपालिकामा आकासे पुल निर्माण गरिने भएको छ । कोहलपुरको मुख्य दुई वटा चोकमा आकासे पुल निर्माण गरिने भएको हो ।

बढ्दो दुर्घटना न्यूनिकरण गर्न तथा पैदलयात्रीको सुरक्षाका लागि आकासे पुल निर्माण गर्न लागिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

सडक दुर्घटनाको उच्च जोखिम मानिने हाइस्कुल र साझा चोकमा आकासे पुल निर्माण गर्न लागिएको उनले बताए । आकासे पुल निर्माणका लागि आवश्यक नापजाँच पनि गरिएको छ । कुल १२ लाख रुपैयाँको लागतमा डीपीआर सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि वडा नम्बर १० हाइस्कुल चोक र वडा नम्बर ११ मा रहेको साझा चोकमा आकासे पुल निर्माण गर्ने उल्लेख गरेको थियो ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईसँग आकासे पुल निर्माणका लागि अनुरोध गरिएकोमा राईले कोहलपुर नगरपालिकाको संस्थागत आग्रहलाई स्वीकार गरेर इञ्जिनियरको टोली पठाइदिएका थिए ।

सडक डिभिजन कार्यालय नेपालगन्जका इञ्जिनियरको टोलीले शुक्रबार प्रारम्भिक नापजाँच गरिसकेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ०८:४०