सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा

डुडुवामा ‘प्रभावकारी र गुणस्तरीय’ स्वास्थ्य सेवा

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम

डुडुवा गाउँपालिकामा सञ्चालित पालिकास्तरीय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८–०७९ को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निर्माण गरिएको हो ।

समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्र्तगत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गरेका थिए ।

एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रमको प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसँगै उत्कृष्ट कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सभाको समापनमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम रहेको बताए ।

अध्यक्ष चौधरीले पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै हाल गाउँपालिकाका तीन स्थानमा सञ्चालित निशुल्क प्रयोगशालालाई वृद्धि गरि गाउँपालिकाका ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताए ।

पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वाञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उनीहरुको ठुलो योगदानको कदर गरे ।

समिक्षा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता थियो ।

कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो । प्रस्तुतीपछिको छलफलमा उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निर्माण गरिएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १८:२७