सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

फोहोरमै राजनीति : व्यवस्थापनमा किन यतिधेरै सकस ?

आफ्नो घरबाट निस्केको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्ने नीति सरकारले ल्याउनुपर्छ । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नु परेपछि सबैको चेत खुल्ला !

राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठमाडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै मात्र हो ? कि त प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शहरी विकासमन्त्री मेटमणि चौधरीको पनि हो ? आफू केही नगर्ने अनि फोहोरमा पनि राजनीति गर्न खोज्ने ? नियतले पनि यस्तो गर्न दिन्छ ?

उपमेयर सुनिता डंगोल एमालेबाट निर्वाचित भइन्, तर गर्ने केही होइन । एक्लो भएको मौका छोपेर यिनीहरुले बालेन्द्रलाई शिथिल बनाएका छन् । यता, बालेन्द्रले काम गर्न पनि नदिने अनि दोषमात्र लगाउने । नगरसभाको बैठकमा बालेन्द्रलाई एक्लो पारेर बोल्नसमेत दिँदैनन् । झोले वडाध्यक्षहरुले उनको एउटा कुरा पनि टेर्दैनन् अनि कसरी अघि बढ्ने ? सुझाव माग्यो भने विवाद गर्न खोज्ने पार्टीगत वडाध्यक्षहरुकै कारण पनि फोहोर उठाउन सकस परेको हो ।

यता, नुवाकोटको बञ्चरेडाँडामा आन्दोलन गर्ने र फोहोर लैजान नदिने पनि झोले कार्यकर्ता नै हुन् । बञ्चरेडाँडाको स्थानीय उचाल्नुमा प्रधानमन्त्री देउवा र ओलीको ठूलो हात छ । सहयोग कसैले नगर्ने अनि एक्लै यत्रो महानगरको फोहोर उठ्छ ? बालेन्द्रलाई सिद्धयाउनका लागि पूरै गिरोह नै मिलेका छन् । यहाँ त काठमाडौंको फोहोर उठाउने जिम्मा बालेन्द्रको जस्तोमात्र देखिन्छ । आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो ।

वडाध्यक्षहरु हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ? पार्टीबाट आएका सबै वडाध्यक्षले सामुहिक राजीनामा दिनुपर्यो, जे जे काम छ सबै मेयरले नै गर्छन् । समन्वय गरेर काठमाडौंवासीलाई सहजता बनाइदिनुको साटो कसरी निचा देखाउने भन्ने मात्र छ । यता, उपमेयर डंगोलको कसैले नाम पनि लिएको सुनिँदैन । जतिबेला पनि त्यही बालेन्द्रले केही काम गरेन भन्यो अरुको टाउको दोष थुपार्यो ।

मेयर मात्र होइन्, उपमेयर र वडाध्यक्ष पनि काम गर्न असफल भएका छन् । अरुमाथि जुठो छर्केर आफू चोखो बन्ने काम काठमाडौंका वडाध्यक्ष र उपमेयरले नगरे नै बेस होला । स्वतन्त्रले जितेको प्रतिशोध साँधेर एउटा व्यक्तिलाई कतिसम्म नङ्गाउने खोज्ने ? अर्को चोटिबाट जनताले स्वतन्त्रको नाम लिइयोस् भनेर यस्तो रणनीति बनाएको स्पष्ट बुझिन्छ । तर, आफ्नो कारणले सर्वसाधारणले कति दुःख पाएका छन्, झोले उपमेयर र वडाध्यक्षले बुझेनन् । हिजो ठूलो कुरा त उपमेयर र वडाध्यक्षले पनि गरेका थिए । खोइ त नतिजा ?

एक प्रतिशत पनि केही विकास भएको छैन् भने यिनीहरुकै कारणले फोहोर पनि उठ्न सकेन् । काम गर्छु भनेर पाइला अघि सारेका व्यक्तिलाई झोले कार्यकर्ताहरुले रोक लगाएका छन् । मेयरमा पछारिएका एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको बालेन्द्रलाई असफल पार्न ठूलो हात छ । अर्कोचोटि आफ्नो पार्टी आओस् भन्ने स्वतन्त्रलाई थिचोमिचो गर्ने काम भइरहेको छ । जनता सडकमा ल्याएर त्यत्रो आन्दोलन गर्न लगाउने पनि चुनाव हारेका व्यक्तिहरु नै हुन् । पदका लोभीहरुले मुलुक सखाप पार्ने निश्चित छ ।

यता, निवर्तमान उपमेयर हरिप्रभा खड्गीले एउटा कार्यक्रममा आफूहरुको सल्लाहबिना मेयरलाई हल्लिन पनि नदिन बताएकी थिइन् । उनी को हुन् ? यसअघिको असफल र नालायक उपमेयर । आफू पदमा बसुञ्जेल एउटा सिन्को भाँच्ने काम पनि गरेनन् । यिनीहरुको पालामा पनि सडकको फोहोर यस्तै थियो । बालेन्द्रले पटकपटक बैठक बोलाएर फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सुझाव मागिरहेका छन् । तर, सुझाव दिन पनि रर्याल काढेको देखिन्छ ।

तत्कालिन मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीले त्यति पनि गरेनन् । फोहोरकै कारणले महामारी फैलिने अवस्था सिर्जना भएको छ । जनतालाई बाटो हिँड्न पनि धौधौ परेको छ । यस्तोमा पनि पार्टीकै बारेमा सोच्नु, उसकै निर्देशनको आधारमा चल्नु कतिसम्म लज्जास्पद विषय हो । काठमाडौंवासीले पनि फोहोर उठाउन पहल गर्नुपर्ने भएको छ । आफ्नो शहर सुन्दर चाहिएको छ भने जनताले पनि आवाज उठाउनुपर्छ । होइन भने केह िदिनपछि घरबाट बाहिर ननिस्किए पनि हुन्छ ।

यता, पार्टीको पछि लागेर आरोप प्रत्यारोप गर्ने वडाध्यक्षहरुलाई राम्रो सबक सिकाउनुपर्छ । अबको चुनावमा कांग्रेस र एमालेलाई कसैले पनि भोट दिनुहुँदैन । यिनीहरुकै कारण काठमाडौं ध्वस्त भयो । बालेन्द्रको पार्टी भनेकै जनता हो । जनताले नै उसलाई साथ दिएन् भने कसरी शहर सफा र सुन्दर हुन्छ ? अझै पनि पार्टीकै कार्यकर्ता बनेर सोच्ने हो भने रााजधानीको हाल बेहाल हुन्छ । अस्तिकै नगरसभाको बैठकमा बालेन्द्रलाई बोल्न पनि दिइएन् । उनलाई वडाध्यक्षले प्याकप्याकी बनाए ।

सबै आरोप उनीमाथि पनि खन्याएर अरु सबै पन्छिए । यिनीहरुको योजना बालेन्द्रलाई भित्तामा पुर्याएर छाड्ने थियो जसमा उनीहरु सफल हुदैं गएका छन् । तर, काठमाडौंको हाल के हुन्छ ? यो यिनीहरुले देखेका छैनन् । तत्कालिन मेयर र उपमेयरले महिनौ दिनदेखिको फोहोर बालेन्द्रलाई सुम्पिएर गएका थिए । अरुको पालाको फोहोर उठाउने ठेक्का पनि उसकै हो ? काठमाडौंका जनताले समेत यतिखेर बालेन्द्रलाई साथ दिएको देखिँदैन । उसले पटकपटक फोहोर वर्गीकरण गर, फोहोर व्यवस्थापन गर्न ठाँउको खोजी नभएसम्म घरमा राख भनेर आग्रह गर्दा पनि कोही सुन्न चाहदैनन् ।

आफ्नो घर सफा चाहिनेलाई सडकचाहिँ किन नचाहिएको होला ? जनता आफै पनि अलिकति जिम्मेवार भइदिए पनि राजधानीको फोहोर उठाउन त्यति अप्ठ्यारो पर्दैन । अब बालेन्द्रले फोहोरको जिम्मेवारी छोडिएदिए पनि हुन्छ । वडाध्यक्षले नै फोहोर व्यवस्थापन गर्नुपर्ने निर्णय उनले गर्नुपर्छ । राजधानी सुधार्नु मेयरको मात्र जिम्मेवारी होइन । वडाभित्रको समस्या समाधान गर्नु वडाध्यक्षको कर्तव्य हो । त्यसैले मेयर अब आफैं सतर्क हुनुपर्यो । किनकि वडाध्यक्षले जानाजान विवादमा ल्याउन खोजेका छन् ।

यता, बञ्चरेडाँडाका स्थानीयहरु दहीच्यूरे भए । कि त फोहोर नै फाल्न नदिने भनेर अडान लिनुपर्यो । होइन भने कहिले फाल्न दिने भन्ने कहिले सडकमा उत्रिने । विभिन्न माग राख्ने अनि आएको पैसा ल्यामल्युम पार्ने । त्यसपछि फेरि आन्दोलन गर्ने । अडानमा टेकेपछि सरकारले पनि केही गर्न सक्दैन । जनता मारेर फोहोर फाल्ने कुरा त आउँदैन । बञ्चरेडाँडाका स्थानीयहरु प्नि पैसामा बिके । फोहोरका कारणले उनीहरुलाई समस्या परेको सबैले बुझेका छन् तर छिनमै कुरा फेर्नु त भएन ।

अब फोहोर व्यवस्थापन अझै जटिल हुन्छ । आफ्नो घरबाट निस्केको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्ने नीति सरकारले ल्याउनुपर्छ । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नु परेपछि त सबैको चेत खुल्ला ! सरकारले फोहोरको जिम्मा लिनु नै घाँडो बनेको छ । काठमाडौंका बासिन्दा आफू घर बनाउने, भाडामा लगाउने अनि बञ्चरेडाँडाका जनतालाई दुःख दिने । मोज आफूहरु गर्ने अनि सास्ती अरुलाई दिने । काठमाडौंका बासिन्दा सामन्ती सोचाइका छन् । आफ्नो काम भए अरुको के मतलब भन्ने खालका नागरिक बस्ने ठाउँ हो यो ।

बञ्चरेडाँडाको जस्तो समस्या आफूलाई परेको भए पो थाहा हुन्थ्यो । आफू मन्त्री पदबाट हटेको आवेगमा आएर रामकुमारी झाँक्रीले पर्दाभित्र बसेर बञ्चरेडाँडाका जनता उचालेको कुरा सुन्नमा आइरहेको छ । मन्त्री पदको मोह झाँक्रीमा कति थियो, अहिले पनि स्पष्ट देखिन्छ । २०७९ जेठ २७ गते झाँक्रीले अब काठमाडौंको फोहोर उठ्छ, उनीहरुको माग पूरा गरेको र फोहोर उठाउनमा कुनै अवरोध नहुने भनेर उनले दाबी गरेकी थिइन् । तर, खोइ त ? अहिले पनि काठमाडौंको फोहोर जस्ताको त्यस्तै छ ।

अहिलेका शहरी विकास मन्त्री चौधरीले केही काम गर्न नसक्ने हो भने उनले पनि राजीनामा दिए हुन्छ । महानगरभन्दा ठूलो जिम्मा शहरी विकास मन्त्रालयको हो । शहर व्यवस्थित बनाउने, फोहोर उठाउने र सफा सुन्दर बनाउने पनि मन्त्रालयकै मातहतमा पर्दछ । न घर बनाउन नयाँ मापदण्ड नै ल्याउन सके । आफू आएको १०० दिनको उपलक्ष्यमा पत्रकार सम्मेलन गरेर फाइफूर्ति लगाउने काम भयो । प्रश्न उठेको छ, आखिर उनले गरेचाहिँ के ? फोहोर ज्युँको त्युँ छ ।

शहर हेर्दै घिनलाग्दो देखिन्छ । सत्ता र कुर्सीका लागि मरिहत्ते गर्दै सरकारमा आएका मन्त्रीहरु सबै उस्तै रहेछन् । केही काम नगर्ने, तलबभत्ता खाने र सरकारी गाडी चढ्ने बाहेक अरु केही गर्न सकेका छैनन् । एउटा सिन्को पनि नभाँच्ने मन्त्रीजति सबै समाजवादीकै छन् । यिनीहरुलाई पार्टीले तत्कालै फिर्ता बोलाउनुपर्छ । यिनकै कारणले समाजवादी तहसनहस हुने निश्चित छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार ०९:०३

सिफारिस