चितवन । भरतपुर महानगरपालिकामा पराजित एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार विहान आकस्मिक भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दुईबीच भेट भएको हो । बुधबार विहान १० वजे ज्ञवाली ओली निवास पुगेका थिए । ठीक त्यसैबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि पुगे । ‘त्यो संयोगमात्र थियो वा ओली कमरेडले नै मिलाउनु भएको थियो, भन्न सक्दिन’ ज्ञवालीले भने, ‘जे होस्, कमरेड ओलीकै उपस्थितिमा हामीबीच ५ मिनेटजति कुराकानी भयो ।’
भेटमा भरतपुर महानगरको निर्वाचनबारे पनि कुराकानी भएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेर आफूलाई पराजित गराएको आरोप ज्ञवालीले लगाउँदै आएका छन् । त्यससम्बन्धी प्रसङ्ग प्रचण्ड आफैले उठाएका थिए । प्रचण्डले भनेका थिए, ‘चुनावमा पराजित भए पनि तपाईंले राजनीतिक संस्कृति प्रदर्शन गर्नुभयो, राजनीतिक संस्कृतिको पाठ तपाईंले सिकाउनु भएको छ ।’ ज्ञवालीका भनाईमा, आकस्मिक रुपमा भएको त्यो भेटमा उनी भरतपुर निर्वाचन प्रकरणबारे कुरा उठाउने पक्षमा थिएनन् । उनी भन्छन्, ‘त्यहाँ के भएको थियो, त्यो सारा दुनियालाई थाहा छ । त्यसैले, त्यो प्रसङ्ग उठाएर मैले उहाँलाई लज्जित पार्न चाहिन ।’
छोटो कुराकानीमा वामपन्थी आन्दोलन, त्यसमा व्यक्तिको भूमिका लगायत विषयमा कुराकानी भएको थियो । ‘अहिलेको एकतालाई चुनावी ट्याक्टिसको रुपमा होइन, कम्युनिष्ट एकतालाई मजवुत बनाएर लैजाने आधारको रुपमा विकसित गर्ने विषयमा कुराकानी भयो ।’ कुराकानीमा ज्ञवालीले स्थानीय निर्वाचनको तिक्तता भुलेर आगामी निर्वाचनमा बाम गठबन्धनलाई विजयी बनाउन आफू लाग्ने बताए । ‘पार्टीले उहाँलाई क्षेत्र नं ३ को साझा बाम उम्मेदवार बनाउने निर्णय गरेको छ’ ज्ञवालीले भने, ‘उहाँलाई जिताउन मेरो भूमिका रहनेछ । म विगत होइन, भविष्य हेर्ने पक्षमा छु ।’ ओलीसँगै प्रचण्डसँगको भेटपछि ओली निवास पुगेका प्रचण्ड पुत्र प्रकाश, प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिना, एमालेका पूर्व सांसद रामकुमार ज्ञवाली, एमाले कार्यकर्ता राम न्यौपाने लगायत सँगै बसेर ज्ञवालीसँग फोटो समेत खिचेका थिए । सँगै फोटोको अफर चाहिँ ज्ञवालीले गरेको प्रकाशले बताए ।
।