सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

‘नागरिक रुँदै, मन्त्री निदाउँदै’

अर्थविद्का अनुसार घरजग्गा, गाडी र सेयरको मूल्य अझै पनि घट्छ र देशमा ठुलो आर्थिक संकट आउँछ ।

सरकारी कार्यालयमध्ये यातायात कार्यालय र मालपोत कार्यालय नागरिकको धेरै भिडभाड हुने कार्यालय हुन् । यी दुई सरकारी कार्यालयमा सबैभन्दा बढी नागरिकको चाप हुन्छ । एक बर्ष अघिसम्म मालपोत कार्यालयमा जग्गा खरिद बिक्री गर्नेहरुको लाइन धेरै नै हुने भएकाले त्यहाँ खुट्टा राख्ने ठाउँ पनि हुँदैन्थ्यो । यता यातायात कार्यालयमा पनि सवारीसाधन खरिद बिक्री गर्नेहरुको त्यस्तै भिड हुन्थ्यो । अहिले एकवर्षको बीचमा त्यसको ठ्याकै उल्टो भएको छ । अहिले मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छ । नागरिक अहिले घरजग्गा बिक्री गर्नका लागि विभिन्न ठाउँ धाइरहेका हुन्छन्, तर किन्ने कोही भेट्टाउँदैनन् ।

त्यस्तै यता निजी प्लेट, भाडाका गाडीहरुको पनि खरिद बिक्री ठयाप्पै बन्द भएको छ । मालपोतमा अहिले हेर्यो भने सुनसान देखिन्छ, घरजग्गा खरिद बिक्री र नामसरी काम ठप्प भइसकेको छ । मालपोत कार्यालयका कर्मचारीका अनुसार ६ महिना अघिसम्म घरजग्गा किनबेच हुने गर्दथ्यो, तर अहिले त घरजग्गाको किनबेच नै हुँदैन । कहिलेकाहीँ दिनमा १ देखि २ वटासम्म नामसारी हुन्छन् भने कहिले त्यो पनि हुँदँन । यता यातायात कार्यालयका कर्मचारीहरु तीन महिना अघिसम्म सवारीसाधन नामसरी गर्ने नागरिकको निकै भिड हुन्थ्यो, तर अहिले दिनमा १ देखि २ वटा हुन पनि गाह्रो भएको बताउँछन् ।

त्यस्तै मालपोत तथा यातायात कार्यालयमा लेखनदास गर्नेहरु एक वर्षअघि लेखनदास गरेर दिनमा १० हजारदेखि लाखसम्म कमाउँथे । तर अहिले काम नपाएर यिनीहरुसँग चिया खानेसमेत पैसा हुँदैन । यसरी घरजग्गा र सवारीसाधनको मुल्य घट्नु वा मन्दी आउनुको कारण व्यक्तिसँग पैसा नहुनु र बैंक, फाइनान्स र सहकारीहरुले कर्जा दिन नसक्नु हो । पछिल्लो समय बैंक, फाइनान्स र सहकारीहरुले कर्जाको त कुरै टाढा, पैसा राख्नेहरुको रकम समेत दिन नसकेर भगाभाग गरिरहेका छन् । दुई वर्षअघि नागरिकले घरजग्गा, गाडी र सेयर सबै धितो राखेर बैंक, फाइनान्स र सहकारीबाट कर्जा लिए । दुई वर्षअघि यी वस्तुहरुको मूल्य धेरै बढेको थियो । नागरिकले त्यसबेला नाफा हुन्छ भनेर ऋण लिएर घरजग्गा, गाडी र सेयर किने, अहिले मूल्य घटेर रुनु कि हाँस्नु अवस्थामा पुगेका छन् ।

आनाको ५० लाखमा किनेको घडेरी अहिले सस्तोमा वा आधा भाउमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । त्यस्तै यता एकवर्षअघि २० लाखमा किनेको दुई वा चार पाङ्ग्रे सवारीसाधन अहिले ५ लाखमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । यसरी घरजग्गा किन्ने नागरिक हराउनुमा पनि कारण छ । नागरिकले पहिला नाफाको लोभमा ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले भने ती वस्तुको बिक्री पनि हुँदैन र बैंक, फाइनान्स र सहकारीहरुले कर्जा पनि दिँदैनन् । जो व्यक्तिले पहिला घरजग्गा, सेयर, गाडी आदि धितो राखेर कर्जा लिए अहिले उनीहरु हाम्रो ती वस्तुहरु नै लिलाम गर्नुस् भनेर हात उठाउँछन् । २०७८ साउन २१ गते एकैदिन २२ अर्बको सेयर किनबेच भएको थियो । अहिले सेयरको किनबेच घटेर दिनमा २ अर्ब पनि हुँदैन । २५०० मा किनेको एक वर्षअघि एक कित्ता सेयर अहिले ५०० मा बेच्छुभन्दा पनि बिक्री हुँदैन । यी बस्तुहरुमा मन्दी आउँदा अहिले वित्तिय संस्था भाग्दै, नागरिक डुब्दै छन् ।

बैंक, फाइनान्स तथा सहकारीहरुले भने नाफाको लोभमा यी सबै बस्तुहरुमा नै लगानी रहेको पाइन्छ । यसरी यी जेठो वा धितोहरुको मूल्य घटेपछि बैंकबाट ऋण लिने ऋणीहरुको भगाभाग भइरहेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य अहिले कबाडीको भन्दा पनि कम छ । मूल्य बढाउने दलालीहरु पनि डुबेर भगाभाग गरिरहेका छन् । अहिले सेयर, घरजग्गा र गाडीको मूल्य बढाउने दलालीहरु ऋण तिर्न नसकेर भाग्ने प्रक्रियामा छन् । कतिले त आफ्नो ज्यान बचाउनका लागि नेपाल नै छोडिसकेका छन् भने कति छोड्ने तयारीमा छन् । बैंक, फाइनान्स तथा सहकारीहरुमा घरजग्गा, गाडी र सेयर धितो राख्ने नागरिक भागेपछि अब ती वस्तुहरु यी वित्तिय संस्थाहरुले बेच्छुभन्दा पनि कोहीले खरिद गर्दैनन् । अर्थविद्हरुका अनुसार घरजग्गा, गाडी र सेयरको मूल्य अझै पनि घट्छ र देशमा ठुलो आर्थिक संकट आउँछ ।

विज्ञहरुका अनुसारपनि यी वस्तुहरुको मूल्य अझै १५ वर्षसम्म बढ्ने छैन । यता नागरिक पनि नेपालको अर्थतन्त्र श्रीलंकाभन्दा नाजुक हुन्छ भनेर भन्छन् । त्यस्तै यता एमाले पनि नेपालको अर्थतन्त्र सिधियो र अब नेपाल पनि श्रींलका नै बन्छ भनेर भाषण गर्न व्यस्त देखिन्छ । नागरिक बैंक, फाइनान्स र सहकारी डुब्ने भयो भन्दै बिहानदेखि बेलुकासम्म लाइन बसेर पैसा निकाल्न थालिरहेका छन् । नागरिक प्रत्येक दिन आफ्नो पुँजी निकाल्न बैंक, फाइनान्स र सहकारी धाउने गर्छन् । बैंक, फाइनान्स र सहकारीबाट दिनहुँ अर्बो निक्षेप नागरिकले निकालिरहेका छन् । अहिले बैंक, फाइनान्स र सहकारीमा पैसा राख्ने कोही छैन भने निकाल्ने नागरिक गणना गरेर साध्य छैन । सहकारीहरु पनि डुबेर दिनहुँ भागिरहेका छन् । पछिल्लो समय डुब्ने डरले गर्दा नागरिकले बैक, फाइनान्स र सहकारीमा पैसा राख्न छोडिसकेका छन् ।

बैंक, फाइनान्सको नाममा ८० प्रतिशत नागरिकको घरजगगा र ९० प्रतिशत गाडी र सेयर रहेको छ । नागरिकले यी वस्तु बैक, फाइनान्समा धितो राखेर कर्जा लिएका छन् । अहिले ऋणीहरु यी वस्तुको मूल्य घटेर डुबिसकेका छन् । अब वित्तिय संस्थाहरुले दिएको कर्जा लिन पनि सक्दैनन् र धितो बेच्दा पनि यिनीहरुलाई घाटैघाटा हुनेछ । त्यसकारण वित्तिय संस्थाहरु डुब्छ भनेर नागरिकको कानमा पुगेपछि पैसा निकाल्ने नागरिकको सङ्ख्या ह्वात्तै बढिरहेको छ । बैंकहरुले ब्याज बढाउँछौं भन्दा पनि नागरिक आफ्नो पुँजी राख्न तयार छैनन् । ब्याजको लोभमा साँवा नै डुब्छ भनेर नागरिक सचेत भएका छन् ।

बैंक खोल्नेबित्तिकै पैसा निकाल्नेको लाइन लाग्छ । यता कति सहकारीहरुले डिपोजिट गर्नेहरुको पैसा फिर्ता गर्न नसकेर सहकारीका सञ्चालक तथा अध्यक्षहरु भागिसकेका छन् । सहकारीमा नागरिकको खातामा २० लाख छ भने पैसा निकाल्न जाँदा ५ हजार मात्रै लैजानु भनेर भन्ने गर्छन् । सहकारी, बैंकहरुमा बजारबाट व्यापारी तथा नागरिकले पैसा राख्न छोडिसकेका छन् । यस्तो बेलामा पनि कसरी घरजग्गा, सेयर र गाडीको मूल्य बढ्ला । के बगेको खोला फेरि पनि फर्कन्छ ? अहिले नागरिकलाई बैंक, फाइनान्स र सहकारीबाट लिएको ऋण तिर्न नसकेर मर्नु कि बाँच्नु, ओकाल्नु कि निल्नु भइरहेको छ ।

सहकारीमा भएको सम्पूर्ण रकम डुबिरहेको छ । सहकारीमा रहेको ८ अर्बभन्दा बढी ऋण नागरिकको सबै डुबिरहेको छ भने ८ अर्बभन्दा बढी ऋण लिएर सहकारीहरु भगाभाग गरिरहेका छन् भने यता नागरिकको घरमा रुवाबासी चलिरहेको छ । नागरिकले पसिना बगाएर कमाएको पेसा लिएर सहकारीहरु भागिरहेका छन् । सहकारी संस्थाका सञ्चालकहरु नागरिकको पैसा वा बचत लिएर मोजमस्ती गरिएका छन् । सहकारी संस्था डुब्नुमा सहकारी आफ्नैको हात छ । यिनीहरुले ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, गाडी र सेयरमा गरेर नागरिकको जीवनभरको बचत डुबाएका छन् । सहकारी संस्थाहरुले यस्तो गर्नुमा पनि राजनीतिक पार्टीको सहयोग रहेको देखिन्छ । होइन भने यत्रो सहकारीहरु नागरिकको पैसा लिएर भाग्दा कसैले किन आवाज उठाउँदैन, किन कारबाहीको दायरामा ल्याउँदैन । सहकारी संस्थामा अहिले प्रत्येक दिन नागरिकको लाइन लागिरहेको देखिन्छ । नागरिक सहकारी खोल्नुअघि नै पैसा झिक्न लाइन ल्याएर बस्छन् ।

यसरी नागरिकको यतिधेरै पैसा डुबाएर सहकारीहरु भाग्दा सहकारी विभाग किन मौन बसिरहेको छ ? अहिले पनि सहकारीहरुले १८ देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर नागरिकसँग पैसा उठाइरहेका छन् । जसले गर्दा सिधासाधी नागरिक ब्याजको प्रलोभनमा परी साँवा नै डुबाइरहेका छन् । नागरिकलाई अहिले बैंक, सहकारी र फाइनान्सबाट आफूले नै राखेको पैसा आफूले नै निकाल्न पाउँदा ठुलो युद्ध जितेको जस्तो भइरहेको छ । नागरिकले अहिले ब्याज चाहिन्न बरु डिपोजिट मात्र दिनुभन्दा पनि सहकारी र बैंकहरुले नागरिकको पैसा फिर्ता गर्न सकेको छैन । अबको एक वर्षभित्रमा सबै सहकारीहरु भाग्छन् वा बन्द हुन्छ भनेर सबै अर्थविद्हरु बताउँछन् । नागरिक अहिले बिहानै पैसा लिन सहकारी जान्छन् र दिनभरी त्यहीँ पैसा पाइन्छ भनेर कुर्छन् तर बेलुका खाली हात फर्कने गर्छन् । नागरिक अहिले पनि घरजग्गा, गाडी र सेयरको मूल्य घट्छ र किन्छु भनेर पर्खेर बसिरहेका छन् । के अब फेरिपनि यी वस्तुमा लगानी गर्दा राम्रो हुन्छ र ?

अबको दिनमा यी वस्तुहरुको मूल्य घटदै जान्छ र बैंक, फाइन्स र सहकारीहरु टाटा पल्टिँदै जाने छन् । यता नागरिकले बैंक, फाइन्स र सहकारीमा भएको पैसा ल्याएर लुकाइसकेका छन् । तर राष्ट्रिय बैंक र अर्थ मन्त्रालय कानमा तेल हालेर सुतिरहेको छ । सहकारीहरुले यसरी नागरिकको पैसा डुबाएर भाग्दा पनि भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ निदाएर बसिरहेकी छिन् । नागरिक रुँदै मन्त्री निदाउँदै । यदि नागरिकको पुँजी बचाउन सकिँदैन भने मन्त्री भाएको के काम र ? यसरी निदाएर कहिलेसम्म बस्ने मन्त्री ज्यूँ । कहिलेसम्म नागरिक डुबेको हेरिरहने । सहकारी विभाग नागरिकको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुको साटो कताबाट पैसा आउँछ भनेर कुरेर बसिरहेको छ । यता मन्त्री निदाउने भने उता विभाग नागरिक डुबाउने काम गरिरहेको छ ।

बैंक, फाइन्स तथा सहकारीहरु यसरी डुब्दा पनि सरकारले अहिलेसम्म नागरिकलाई सचेत गराउनका लागि केही सूचना प्रवाह गर्दैन । के नागरिकभन्दा ठुलो वित्तिय सस्ंथा हो सरकार ? नागरिक डुब्दैछन् सरकार मौन बस्दैछ । सहकारीहरुले बजार प्रतिनिधि तथा कर्मचारीहरुलाई १ वर्षदेखि तलब नदिएको र ६ महिनादेखि घरभाडा तिरेको छैन भनेर पनि सुनिन्छ । यता बैंकहरुले पनि तीन महिनादेखि कर्मचारीहरुलाई तलब दिएको छैन भनेर सुनिन्छ । यसरी बैंक र सहकारीहरु डुबे भनेर सबै नागरिकलाई थाहा भए पनि पनि सरकाले अहिलेसम्म थाहा पाएको छैन । कहिलेसम्म कानमा तेल हालेर बस्ने सरकार ? कहिले नागरिकलाई डुब्नबाट बचाउने ? सरकार अब पनि निद्राबाट उठ्ने समय भएको छैन । अहिले पनि नागरिक डुब्दैछन् भने सरकार निदाउँदैछ । अब सरकारले ५०० र १००० को नोटलाई प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्नुपर्छ । बैंक, फाइनान्स र सहकारीबाट पैसा झिकेर नागरिकले घरघरमा लुकाएको पैसा सबै राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अब समयमै नागरिकलाई डुब्नबाट बचाउनुपर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०९:३४