सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन्, क्वाँटी खानुका फाइदा ?

जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो ।

धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ ।

के छन् क्वाँटीका फाइदा ?

गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन ।

त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ । बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ ।

जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ ।

पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो हुन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १८:२९